काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ।

मंगलबार भएको दोस्रो खेलमा नेपाल घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएको हो।

OM Sai Pathibhara Hospital

नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।

ओमानको जितमा जतिन्दर सिंहले १ सय ७ रनको शतकीय इनिङ्स खेले। विस्फोटक ब्याटिङ गरेका उनले ६२ बलमा ६ छक्का र १२ चौका प्रहार गरे । उनले पाँचौ ओभरमा सोमपाल कामीविरुद्ध एकै ओभरमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडेका थिए।

यस्तै सुरज कुमारले २० रन जोड्दा आयन खानले १८ रन  बनाए। सोइब खान ७ रनमा आउट हुँदा कप्तान जिसन मक्सुद ४ रनमा आउट भए।

मोहमद नदीम ३८ रनमा अविजित रहदा सन्दीप गउड सुन्य रनमा अविजित रहे ।

नेपालका करण केसी र कुशल मल्लले २/२ विकेट लिए । सुशन भारीको नाममा १ विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९६ रन बनाएको थियो।

नेपालका लागि ओपनर आसिफ शेखले ९० रनको अर्धशतकीय इनिङ्स खेले। उनले १ सय १२ बलमा ७ चौका र १ छक्का प्रहार गरे।

आसिफको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो अर्धशतक समेत हो। उनी एकदिवसीय अन्तराष्ट्रिय सर्वाधिक उच्च रन बनाउने ओपनर ब्याट्सम्यान समेत बनेका छन् ।

त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१/२१ रन जोडे। रोहित पौडेल २० रनमा आउट हुँदा सनिद्प लामिछाने १६ रनमा आउट भए।

सोमपाल कामी ७ रन, विनोद भण्डारी ६ रन, कुशल मल्ल ४ रन र बिक्रम सोब २ रनमा आउट भए । ओपनर कुशल भुर्तेल सुन्य रनमा पेभेलियन फर्किए।

ओमानका बिलाल खान एक्लैले ४७ रन खर्चिएर ४ विकेट लिए। नेस्टर धाम्बाले २ तथा जिशन मक्सुद र मोहमद नदीमले १/१ विकेट लिए।

यससँगै ओमानविरुद्ध नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ। लिग-२ अन्तर्गत नै सन् २०२० को फेब्रुअरीमा नेपाल घरेलु मैदानमा ओमानसँग दुई खेलमा पराजित भएको थियो ।


जारी सिरिजको पहिलो खेलमा भने नेपालले अमेरिकालाई हराएको थियो। सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

अब नेपालले शुक्रबार अमेरिकासँग दोस्रो खेल खेल्नेछ। त्यस्तै ओमानसँग आगामी आइतबार खेल्नेछ ।

लिग-२ को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ। नेपालले ६ खेलमा ६ अंक जोडेको छ।

ओमान ११ खेलमा १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

लिग-२ विश्वकप छनोटको एक रुप हो। लिग-२ को शीर्ष तीन राष्ट्रले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।