काठमाडौँ / आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको उक्त खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो ।

अमेरिकाले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाएर २३० रनको योगफल तयार गरेको थियो । दुई सय ३१ रनको विजयी लक्ष्य नेपालले ४९ ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो ।

OM Sai Pathibhara Hospital

नेपालका लागि प्लेयर अफ दी म्याच भएका कुशल भुर्तेलले ८४ रनको योगदान दिए । उनले ९३ बलको सामना गर्दै तीन छक्का र तीन चौकासमेत प्रहार गरे । 

यस्तै रोहितकुमार पौडेलले अविजित ६२ रन बनाए । उनले ८७ बल खेल्दै तीन छक्का र दुई चौका हाने । नेपालका लागि विनोद भण्डारीले ३७, आशिफ शेखले २३ र कप्तान ज्ञानेन्द्र मल्लले १७ रन बनाए । बलिङतर्फ अमेरिकाका निशर्ग पटेल र नोष्ठुस केन्जिगेले दुई–दुई तथा सौरभ नेत्राभल्करले एक विकेट लिए ।

यसअघि २३० रन बनाउने क्रममा अमेरिकाका लागि मोनाङक पटेलले शतकीय पारी खेलेका थिए । उनले यस क्रममा ११४ बलको सामना गर्दै १०० रन बनाए । यसमा पटेलको एक छक्का र नौ चौका सामेल थियो ।

यस्तै निशर्ग पटेलले २१, सुशान्त मोदनीले १६, करिमा गोरेले १६, स्टेभन टेलरले १४, नोष्ठुस केन्जिगेले १३, सञ्जय कृष्णमूर्तिले १३, अभिषेक प्रदमकरले अविजित १३ र जसकरन मलहोत्राले ११ रन बनाएका थिए । बलिङतर्फ नेपालका लागि विक्रम सोब, सन्दीप लामिछाने र सुशन भारीले दुई–दुई तथा कुशल मल्लले एक विकेट लिए ।