काठमाडौँ / इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाईटेडले न्युकासल युनाईटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन डेब्यु खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । यस्तै ब्रुनो फर्नान्डेज र जेसे लिंगार्डले एक एक गोल गरे । न्युकासलका जाभियर मानक्विइलोले एक गोल फर्काए ।

OM Sai Pathibhara Hospital

पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । १२ वर्षपछि युनाईटेड फर्किएका रोनाल्डोले डेब्यु खेलमै गोल गरेका हुन् । उनी इटालियन क्लब युभेन्ट्सबाट युनाईटेड आएका हुन् ।

तर, ५६ औं मिनेटमा जाभियरले गोल गर्दै न्युकासललाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ६२ औं मिनेटमा लुक शको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए । खेलको ८० औं मिनेटमा पाउल पोग्बाको पासमा फर्नान्डेजले गोल गर्दा युनाईटेड ३-१ ले अघि रह्यो ।

त्यसपछि खेलको इन्जुरी समयमा लिंगार्डले गोल गर्दै युनाईटेडलाई ४-१ को जित दिलाए । जाडोन सान्चोको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका उनले पोग्बाको पासमा गोल गरेका हुन् ।

जितसँगै युनाईटेड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । युनाईटेडले ४ खेलमा १० अंक जोडेको छ । न्युकासल १ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।