एजेन्सी / शताव्दीकै उत्कृष्ट फुटबलर भनेर चिनिएका अर्जेन्टाइन फुटबलर लियोनल मेस्सी फुटबलका लिजेन्ड मानिएका पेलेको कीर्तिमान तोड्न सफल भएका छन् । दक्षिण अमेरिकामा सर्वाधिक गोल गर्नेको सुचीमा अग्रस्थानमा रहेका पेलेलाई मेस्सीले उछिनेका हुन् ।

शुक्रबार भएको विश्वकप छनौट अन्तरगत बोलिभियासँगको खेलमा ह्याट्रिक पुरा गर्दै मेस्सीले पेलेको कीर्तिमान तोडेका हुन् । मेस्सीले बोलिभियासँगको खेलमा ३ गोल गर्दै आफ्नो अन्तराष्ट्रिय गोल संख्या ७९ पुर्याएका छन् ।

पेले दक्षिण अमेरिकी मुलुकमा राष्ट्रका लागि सबैभन्दा वढी गोल गर्ने खेलाडी रहेका थिए । ब्राजिलका लागि पेलेले ७७ गोल गरेका थिए।  

बोलिभियासँगको खेलमा मेस्सीले खेलको १४ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पनि उनले नै दुई गोल गरी ह्याट्रिक पुरा गरेका हुन । मेस्सीले खेलको ६४ र ८८ औं मिनेटमा व्यक्तिगत दोस्रो र तेस्रो गोल गरेका गरेका थिए ।

दक्षिण अमेरिकी फुटबलमा नयाँ कीर्तिमानसँग मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना बोलिभियालाई पराजित गर्दै बिजयी भएको छ । विश्वकप छनौटको जारी खेलमा यो विजयसँगै अर्जेन्टिनाको अपराजित यात्रा समेत कायम नै छ ।  

जितसँगै अर्जेन्टिनाले ८ खेलबाट १८ अङ्क जोडेको छ । दक्षिण अमेरिकाबाट अर्जेन्टिना छनोट तालिकाको दोस्रो स्थानमा छ भने अर्को मुलुक ब्राजिल शीर्ष स्थानमा कायम रहेको छ । बोलिभिया ६ अङ्क जोडेर नवौँ स्थानमा छ।