बिर्तामोड / नेपालले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिवसीय पहिलो खेलमा पपुवान्युगिनीलाई दुई विकेटले हराएको छ । नेपालले खेल सकिन १० ओभर तीन बल बाँकी छँदा आठ विकेटको क्षतिमा १३५ रन बनाएर लक्ष्य पुरा गर्यो । ओमानमा पपुवान्युगिनीसँग नेपालले दुई अन्तर्राष्ट्रिय एकदिवसीय खेल्नेछ ।

१३५ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा ८२ रनमै सात विकेट गुमाएर फितलो प्रदर्शन गरेको नेपालका लागि रोहित पौडेलले संयमित पारी खेल्दै जितका लागि एक रन आवश्यक छँदा बोल्ड हुन पुगे । पौडेलले ४१ रनको योगदान दिए । आठौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामीले अविजित २२ रनको योगदान दिए । 

OM Sai Pathibhara Hospital

दुबै जनाले आठौं विकेटका लागि ५२ रनको साझेदारी गरे । रोहित र सोमपालले गरेको अर्धशतकीय साझेदारी नेपाली पारीको सबैभन्दा ठूलो साझेदारी रहन गयो । बिक्रम सोब रन नजोडिकन अविजित रहे । पपुवान्युगिनीले ४० औं ओभरको तेस्रो बल नो बल फाल्दा नेपालले जित हात पार्यो ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेषले औसत सुरुवात दिलाए । तर मध्यक्रम असफल हुँदा नेपाली ब्याटिङ क्रम सामान्य लक्ष्य पछ्याउने क्रममा समेत दबाबमा आयो । पहिलो विकेटका लागि ४६ रनको साझेदारी भएको अवस्थामा कुशल भुर्तेल एलबीडब्ल्युको धरापमा परेर १५ रनको व्यक्तिगत योगफलमा पेभेलियन फर्किए । 

लगत्तै आसिफ शेष ३० रन बनाएर पेभेलियन फर्किए । कप्तान ज्ञानेन्द्र मल्लले छ, आरिफ शेषले नौ, कुशल मल्लले १ तथा पवन सर्राफ खाता नखोल्दै पेभेलियन फर्किए ।

पपुवान्युगिनीले पहिलो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपाल समक्ष १३५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । 
ओमानको राष्ट्रिय क्रिकेट एकेड्मी रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको पपुवान्यूगिनीले ३३ ओभरमा १३४ रनको योगफल तयार गरेको थियो । 

पपुवान्युगिनीका लागि चालर्स अमिनिले सर्वाधिक २३ तथा गौडी टोकाले २२ रनको योगदान दिए । सेसी बौले १४ र किप्लिन डोरिगाले १५ रनको योगदान दिए ।

दोस्रो ओभरमा औसत गतिका बलर बिक्रम सोबले ओपनर टोनी उरालाई बोल्ड गर्दै पपुवान्यूगिनीमाथि दबाब बनाए । उनले तेस्रो ओभरमा पुनः कप्तान अस्साद भालालाई आरिफ शेषको हातमा क्याच थमाएपछि पपुवान्यूगिनीले नौ रनमै दुई महत्वपूर्ण विकेट गुमाउन पुग्यो । 

तर सिएका र चालर्सले अद्र्धशतकीय पारी खेलेर पपुवान्यूगिनीलाई प्रारम्भिक दबाबबाट बाहिर निकाल्दिए । सन्दीप लामिछानेले चालर्सलाई विकेट पछाडि आसिफ शेषबाट क्याच आउट गराउँदै साझेदारी तोडे ।

पपुवान्युगिनीलाई सस्तोमै समेट्न नेपालका लागि दुई जना स्पिनर सन्दीप र कुशल मल्लले छ विकेट बाँडे । सन्दीपले दश ओभरमा मात्र ३५ रन खर्चेर चार विकेट लिए । कुशलले सात ओभरमा १९ रन खर्चेर दुई विकेट लिए । 

सोमपाल कामी महँगो साबित भए । उनले सात ओभरमा ३७ रन खर्चिए । उनले एक विकेट लिए । पवन सर्राफ र आरिफ शेषले दुई दुई ओभर बलिङ गरेपनि विकेटविहीन रहनुपर्यो ।