कञ्चनपुर  / कञ्चनपुरमा जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्रै शैक्षिक संस्थाले पठनपाठन गर्न पाउने भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले शैक्षिक संस्थालार्ई स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिको परिधिभित्र रही जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्रै शैक्षिक गतिविधि गर्न दिने निर्णय गरेको हो । 

बैठकपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेद्वारा जारी गरिएको आदेशमा पहिलो प्राथमिकता सकेसम्म भौतिक उपस्थितिमा पठनपाठन नगरी भर्चुअल माध्यमबाट पठनपाठन गर्न गराउन आग्रह गरिएको छ ।

OM Sai Pathibhara Hospital

भौतिक उपस्थितिमा शैक्षिक गतिविधि सञ्चालन गर्दा त्यसको अनुगमन स्थानीय तहले गर्नुपर्ने र स्वास्थ्य मापदण्ड अपनाएको नभेटिए स्थानीय तह आफैँ वा स्थानीय प्रशासनको सहयोग लिई त्यस्ता शैक्षिक संस्था तत्काल बन्द गराउने गरी सञ्चालनको निर्णय गर्नसक्ने प्रमुख जिल्ला अधिकारी पाण्डेद्वारा जारी आदेशमा उल्लेख छ । कञ्चनपुर जिल्लामा वैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञा क्रमिकरूपमा खुकुलो पारिएको थियो ।

सङ्क्रमणको जोखिम अझै कायम रहेकाले अनावश्यकरूपमा मानिस जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, सामूहिकरूपमा पूजाअर्चना गर्ने, जात्रा, महोत्सव, भोजभतेर आदिजस्ता गतिविधिलाई निरुत्साहित गरिएको छ । आर्थिक, सामाजिक र व्यावसायिक गतिविधि गर्दा होस् वा सार्वजनिक स्थानमा आवतजावत गर्दा अनिवार्यरूपमा स्वास्थ्यका मापदण्ड अपनाउनु पर्नेछ । अन्यथा जरिवाना गरिने आदेशमा उल्लेख छ ।