बिर्तामोड / त्रिभुवन विश्वविद्यालयको (त्रिवि) सेवा आयोगले उपप्राध्यापक छनोट परीक्षामा उत्तरपुस्तिकामा प्रश्नमात्रै सारेकालाई पास गराइएको तथ्य फेला परेको छ ।

आयोगका तत्कालीन सदस्य केदार घिमिरेले घुस लिएर उत्तरपुस्तिकामा प्रश्नमात्रै सारेकालाई पास गराइएको तथ्य सार्वजनिक भएको हो ।

OM Sai Pathibhara Hospital

आन्तरिक परीक्षाका लागि रोल नम्बर ५७०८ भएका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षामा सोधिएका कूल ५ वटा प्रश्नको उत्तरमा कूल १७ पटक प्रश्न मात्र सारेको भएपनि पास गराइएको प्रमाण फेला परेको छ  ।

आयोगले २०७२/ ७३ मा गणित विषयको आन्तरिक तथा खुल्ला उपप्राध्यापक पदका लागि लिएको परीक्षामा विद्यार्थीको उत्तरपुस्तिका चेकजाँच गर्ने क्रममा अनियमितता देखिएको थियो ।

परीक्षक विज्ञ प्रा. डा. चेतराज भट्टले जाँचेको उत्तरपुस्तिकामा प्रश्न मात्र सारेका विद्यार्थीलाई पास गराइएको थियो । परीक्षामा प्रश्न मात्र सार्ने विद्यार्थीलाई पास गराइएको कुरा बाहिरिए पछि केही विद्यार्थीहरूले प्रधानमन्त्री कार्यालयमा उजुरी गरेका थिए । प्रधानमन्त्री कार्यलयले सो उजुरी राष्ट्रिय सर्तकर्ता केन्द्रमा छानविनका लागि पठाएको थियो ।

केन्द्रले छानबिन गर्दा परीक्षामा अनियमितता भएको प्रमाण फेला पारी पुनः परीक्षण गर्न केन्द्रले सेवा आयोगलाई निर्देशन दिएको थियो । तर सेवा आयोगले प्राध्यापक प्रकाशरत्न शाक्य र प्राध्यापक रामविनोद चौधरीलाई पुनः उत्तर पुस्तिका परीक्षण गराएको भनी प्रतिवेदन तयार गरी २०७३ माघ १४ गते राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र पठाएको थियो ।

पुनः परीक्षण गरेको भनी २ जना प्राध्यापकलाई सेवा आयोगका तत्कालीन सदस्य केदार घिमिरेले आफ्नो पूर्व योजनालाई सफल बनाउन पुनः परीक्षण गरेको भनी गलत प्रतिवेदन राष्ट्रिय सतर्कता केन्द्रलाई बुझाएको स्रोतको दाबी छ ।

यस सम्बन्धमा पटक –पटक गलत कार्य गर्ने आयोगका सदस्य घिमिरेमाथि पुनः छानबिन गरी कारबाही गर्नुपर्नेमा हालसम्म केही पनि कारवाही नभएको ती परीक्षार्थीहरूको गुनासो छ ।