काठमाडौ// भारतीय अभिनेता अमिताभ बच्चनको नया फिल्म नेपालमा खिचिने भएको छ।
‘प्रेम रतन धन पायो’ फेम्ड निर्देशक सूरज बडजात्याले आफ्नो नयाँ फिल्मको छायांकन नेपालमा गर्ने भएका हुन्।

फिल्मको हिमाली क्षेत्रमा सुटिङ गर्नुपर्ने भएकाले फिल्म ‘उचाइँ’ को छायांकनका लागि उनीसहित कलाकारहरु बोमन इरानी, परिणिती चोपडा, अनुपम खेर, निना गुप्ता नेपाल आउने भएका छन्।
फिल्ममा मुख्य भूमिका रहेका अमिताभ भने नेपाल नआउने भएका छन्।
स्वास्थ्य अवस्थाका कारण परिवारले उनलाई चिसो ठाउँमा पठाउन नमानेको बताइएको छ।
अक्टोबरबाट नेपालमा छायांकन हुने फिल्मको नेपाल व्यवस्थापन थ्री ह्विलर्स कम्पनीले हेरेको छ ।
फिल्मको छायांकन अनुमतिका लागि नेपाल व्यवस्थापन हेर्ने कम्पनी थ्री ह्विलर्सले सञ्चार मन्त्रालयसँग अनुमति मागेको छ ।
यो फिल्ममार्फत सुरज र अमिताभले पहिलो पटक सहकार्य गर्न लागेका हुन् ।
फिल्मको लुक्ला, नाम्चे, लाङटाङ र मनाङ क्षेत्रमा छायांकन हुने बताइएको छ।
मित्रताको कथामा निर्माण हुन लागेको फिल्मको ४० देखि ४५ दिनसम्म नेपालमा छायांकन हुने भारतीय अनलाइन पिंकभिल्लाले उल्लेख गरेको छ ।
निर्देशक बडजात्या लामो समय फिल्मको छायांकनका लागि एक सुरक्षित स्थानको खोजीमा थिए ।
लोकेशन खोज्न उनी विदेशका विभिन्न ठाउँमा समेत पुगेका थिए । तर, पछि उनले हिमाली क्षेत्रको छायांकनका लागि नेपाल रोजेका हुन् ।