काठमाडौँ / बार्सिलोनाका फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन ला लिगा च्याम्पियन एल्थेटिको म्याड्रिडमा फर्किएका छन् । दुई वर्षको बसाई पछि ग्रिजमान लोनमा पुनः आफ्नो पुर्व क्लब एल्थेटिको फर्किएका हुन् ।

ग्रिजमन २०१९ मा १२० मिलियन युरोमा क्याटलान क्लब बार्सिलोना पुगेका थिए । एथ्लेटिकोले खेलाडीको तलब तिर्नेछ भने करारमा ट्रान्सफरलाई स्थायी बनाउने बाध्यकारी बुँदा पनि रहेको छ ।

OM Sai Pathibhara Hospital

उनले एथ्लेटिकोका लागि २५७ खेलमा १३३ गोल गरेका छन् । बार्सिलोनामा भने उनले १०२ खेलमा ३५ गोल गरेका छन् । यसक्रममा उनले कोपा डेल रेको उपाधि मात्र जितेका छन् ।

आर्थिक सङ्कट खेपिरहेको बार्सिलोना छाड्ने उनी ११ औँ खेलाडी हुन् । बार्सिलोनाले आफ्नो क्लबका सर्वकालिक गोलकर्ता लियोनेल मेस्सीलाई समेत क्लब छाडेर जान दिन परेको थियो ।

गत सिजन एथ्लेटिकोले बार्सिलोनाबाट स्ट्राइकर लुइस सुवारेजलाई अनुबन्ध गरेको थियो । उनले डिएगो सिमिओनीको टोलीलाई ला लिगा जित्न मद्दत गरेका थिए ।