काठमाडौँ / नेपालले मध्यपूर्वी एशियाको उदियमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्ने भएको छ ।

 दुई देशबीच पर्यटन प्रवद्र्धन गर्न आपसी सहकार्य गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनञ्जय रेग्मी र नेपालका लागि मलेसियाका फस्ट सेक्रेटरी (चार्ज दी अफेयर्स) मोह्द फाजेल अबु हसनबीच छलफल भएको हो ।

OM Sai Pathibhara Hospital

मलेसियन राजदूतावासमा शुक्रबार भएको भेटमा दुवै देशले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै एक अर्को देशको पर्यटन प्रर्वद्धनका लागि सहकार्य गर्ने सकिने कुरामा जोड दिइएको छ । 

भेटका क्रममा दुवै देशका कूटनीतिक व्यक्ति, सेलिब्रेटी, सञ्चारकर्मीको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यास आदानप्रदान गर्न सकिने विषयमा छलफल भएको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ ।

बोर्डका सिइओ रेग्मीले कोभिड –१९ महामारीले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा डिजिटल मार्केटिङमा जोड दिँदै बिटुबीका माध्यमबाट दुवै देशको पर्यटन प्रवद्र्धन गर्न सकिने धारणा राखे । 

उनले नेपालका विभिन्न क्षेत्रमा पूर्णखोप कार्यक्रम सम्पन्न भएकाले हिमाल आरोहण र ट्रेकिङ गर्ने क्षेत्रमा पर्यटक लैजान खासै समस्या नभएको बताए । 

उनले मलेसियमामा नेपालको प्रवद्र्धन गर्न त्यहाँस्थित सरकारी सञ्चारमाध्यम र नेपालमा मलेसियाको प्रवद्र्धन गर्न नेपालको सरकारी सञ्चारमाध्यमबीच सहकार्य गर्न सकिने पनि बताए ।  

बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नेपालले मलेसियामा आयोजना हुने विभिन्न मार्टमा सहभागिता जनाउँदै आएको बताउँदै कोभिडकाबीच पनि स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटनलाई चलायमान बनाउन सकिने बताए । 

बोर्डले कोभिडकै बीचमा पनि नेपालको पर्यटनलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भनेर विभिन्न देशका राजदूतसँग निरन्तर भेटघाट तथा छलफल गरिरहको छ । बोर्डले यसअघि कतार, थाइल्याण्ड र श्रीलङ्का राजदूतसँग छलफल गरेको थियो ।