काठमाडौँ / सामाजिक अभियानकर्मी डा. विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । 

अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा. लिसा राइट होफ्नरद्वारा लिखित ‘दि राइटर्स माइण्डसेट’ पुस्तकमा डा. परियारको जीवन सङ्घर्षको कहानी प्रकाशन गरिएको छ ।

OM Sai Pathibhara Hospital

उक्त पुस्तकका ६९२ पृष्ठ मध्ये डा परियारको कहानी पृष्ठ ५९१–५९४ बीच चार पृष्ठमा समावेश गरिएको युएस नेपाल अनलाइनका सम्पादक प्रदीप परियार थापाले जानकारी दिए । 

विश्वमै अग्रणी मानिने म्याकग्रो हिल पब्लिकेसनको पाठ्यपुस्तक अमेरिकामा मात्र होइन, विश्वका १०० भन्दा बढी मुलुकका हाइस्कूल, कलेज र विश्वविद्यालयमा पढाइ हुन्छ । 

सन् २०२० को तथ्याङ्कअनुसार हाल यो पब्लिकेसनको ४३ लाख बढी सशुल्क पाठ्यपुस्तक किन्ने विद्यालय, विश्वविद्यालय, विद्यार्थी र प्रोफेसर छन् । यो पाठ्यपुस्तकमा ५२ जनाको आलेख र जीवन कहानी समावेश छन् । 

अमेरिकी सामाजिक अभियानकर्मी डा. विष्णुमाया हाल जर्सीसिटी सहरको रोजगारी र तालिम कमिटीको सदस्यसमेत रहेकी छिन् ।

डा. विष्णुमायाको पहलमा सन् २०१९ मा जर्सीसिटी सहर र नेपालको इन्द्रावती गाउँपालिकाबीच सिस्टर सिटी कायम गरिएको छ भने सन् २०१७ मा उनकै नेतृत्वमा जर्सीसिटीको सिटी भवनमा नेपालको झण्डा फहराइएको थियो । 

डा. विष्णुमाया एनआरएनए आइसिसीको वर्तमान निर्वाचन आयुक्त, ग्लोबल गोर्खा समाजको संरक्षक र एड्वान संस्थाको संस्थापक अध्यक्ष पनि हुन् ।