बिर्तामोड / काठमाडौँको स्वयम्भुस्थित नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाद्वारा सञ्चालित मनमोहन अस्पतालमा डाक्टरको लापरवाहीले गर्दा धादिङका एक जना बिरामीको मृत्यु भएको छ ।
अस्पतालले बिरामीको परिवारको मन्जुरीनामामा कीर्ते हस्ताक्षर गरेर अपरेशन गर्दा निलकण्ठ नगरपालिका –९ काफलपानीका ५५ वर्षीय धनबहादुर गुरुङको मृत्यु भएको हो ।

भदौ १ गते अरिङ्गालले टोकेर गुरुङलाई धादिङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाटन अस्पतालमा रिफर गरिएको थियो । गुरुङलाइ थप उपचारका लागि मनमोहन मेमोरियल अस्पतालमा ल्याइएको थियो ।
बिरामीको पिसाब रोकिएका कारण अप्रेसन गर्नुपर्ने हुन्छ भन्दै अस्पतालले पैसाको बन्दोबस्त गर्नु भनेर जानकारी गराएको बिरामीका भतिज पर्ने सन्तोष गुरुङले जानकारी दिए ।
पैसाको व्यवस्था गर्न सकिने भएपनि बिरामीका छोरा र छोरी भारतबाट नआउन्जेल केही पनि नगर्नु भन्दाभन्दै डाक्टरले अप्रेसन गर्दा बिहीबार बेलुका बिरामी मृत्यु भएको सन्तोषले बताए ।
अस्पताल प्रशासनले बिरामी र आफन्तबीच हुने सम्झौता पत्रमा पनि बिरामीको आफन्तको किर्ते सही गरेको मृतकका आफन्तको आरोप छ ।
अस्पतालका सह–प्रशासक बुद्धिमान तामाङले घटनाबारे आफूले सम्बन्धित विभागका डाक्टरलाई बुझेर मात्रै प्रतिक्रिया दिन सक्ने बताए ।