काठमाडौं / काठमाडौंको मित्रनगरस्थित एक होटलमा युवती मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–३, चक्रपथ साम्बाला नजिक बस्दै आएका २७ वर्षीय रमेश बुढा रहेका छन्। उनलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार साउन ३ गते काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित होटल माउन्टेन प्लाजाको चौथो तलाको ४०४ नम्बर कोठामा एक युवती मृत अवस्थामा फेला परेकी थिइन्।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोलीले प्राविधिक विश्लेषणसहित अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानबाट मृतक कैलालीको धनगढी उपमहानगरपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्दै आएकी २५ वर्षीया निशा सुनार रहेको खुलेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा रमेश बुढालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।






































