ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–इमाडोलमा करिब १५ मिटर सडक एक्कासि भासिँदा सडक किनारका व्यापारिक स्टलहरूमा क्षति पुगेको छ। सडकसँगै रहेको ट्रस संरचना चर्किएपछि स्थानीय व्यवसायी त्रसित बनेका छन्।
घटनामा ‘सर्लाही फर्निचर एण्ड फल्स सिलिङ’का सञ्चालक मिथिलेश साहको मात्रै करिब डेढ लाख रुपैयाँ बराबरको सामान क्षति भएको छ। उनका अनुसार केही दिनअघिदेखि सडकमा चिरा देखिए पनि समयमै मर्मत नभएपछि सडक ठूलो भागमा भासिएको हो।
सडक भासिँदा पाँच वटा पसल रहेको ट्रस संरचनासमेत क्षतिग्रस्त भएको छ। स्थानीयले महालक्ष्मी नगरपालिकालाई जानकारी गराएपछि मर्मतको आश्वासन दिइएको छ। घटना भएको स्थान साविक इमाडोल गाविस–३ वडा कार्यालय नजिकको मन्दिर क्षेत्र हो।






































