काठमाडौं ।कीर्तिपुरमा मंगलबार बिहान आगलागी भएको कारभित्रबाट एक पुरुषको जलेको शव फेला परेको छ। प्रहरीले शव निकालेर पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाएको छ भने घटनाको कारण र मृतकको पहिचानबारे अनुसन्धान तीव्र बनाएको छ।
प्रहरीका अनुसार ट्याङ्लाफाँटस्थित चाँदनी चोकमा बा।५ च ३०३८ नम्बरको सेतो किया कार अचानक आगलागी हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। प्रत्यक्षदर्शीले सुरुमा कारभित्रबाट सामान्य धुवाँ र सानो आगो देखिएको, केही क्षणमै आगोले पूरै गाडी ढाकेको बताएका छन्।
प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएपछि कारभित्र जलेको अवस्थामा शव फेला पारेका हुन्। अनुसन्धानका क्रममा उक्त कार नबिल बैंकबाट ऋण लिएर किस्तामा खरिद गरिएको खुलेको छ।
प्रहरीले कारधनीको पहिचान भए पनि जलेर मृत्यु भएका व्यक्ति कारधनी नै हुन् वा अन्य कोही भन्ने विषय अझै पुष्टि भइनसकेको जनाएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ।






































