काठमाडौं। राजधानीको कीर्तिपुर नगरपालिका–ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। मंगलबार चाँदनी चोक नजिक गुडिरहेको बा ५ च ३०३८ नम्बरको किया कारमा एक्कासि आगो लागेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आगो लागेपछि चालक गाडीबाट बाहिर निस्कन नपाएका कारण सिट बेल्ट बाँधेकै अवस्थामा गाडीभित्र जलेर मृत फेला परेका हुन्। मृतकको परिचय भने अझै खुल्न सकेको छैन।
घटनाको जानकारी पाएलगत्तै स्थानीय बासिन्दा र प्रहरी टोलीले फायर एक्स्टिङ्गुइसर प्रयोग गरेर आगो निभाउने प्रयास गरेका थिए। त्यसपछि घटनास्थलमा पुगेको दमकलले आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो।
चलिरहेको कारमा कसरी आगो लाग्यो भन्ने कारण अहिलेसम्म खुलेको छैन। प्राविधिक खराबी, इन्धन प्रणाली वा अन्य सम्भावित कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धानपछि मात्रै आगलागीको वास्तविक कारण खुल्ने जनाएको छ।






































