काठमाडौं— स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिई लगातार ६० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मचारीलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार ती कर्मचारीलाई सेवाबाट किन नहटाउने भन्ने विषयमा लिखित जवाफ मागेको हो। सूचनाअनुसार उनीहरू स्वीकृत बिदाबिनै लामो समय कार्यालयमा अनुपस्थित रहेकाले विभागीय कारबाही प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले तोकिएको अवधिभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न नसके सम्बन्धित कर्मचारीलाई भविष्यमा स्वास्थ्य सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउनेसम्मको विभागीय सजाय हुन सक्ने चेतावनी दिएको छ।
कारबाही प्रक्रियामा परेका कर्मचारीहरू वीर अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कान्ति बाल अस्पताल महाराजगञ्ज तथा आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत रहेका छन्।
मन्त्रालयले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आधिकारिक स्पष्टीकरण पेश गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिएको छ। तोकिएको समयभित्र स्पष्टीकरण नआए प्रचलित कानुनअनुसार थप कारबाही प्रक्रिया अगाडि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ।







































