काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य पुनः बढेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै छापावाल सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएर २ लाख ८५ हजार ६ सय रुपैयाँ पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ८ सय ५५ रुपैयाँ कायम भएको छ। सोमबार यही सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ४ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा ५० रुपैयाँ बढी हो।

अन्तर्राष्ट्रिय बजारमा हुने दैनिक उतारचढावका आधारमा नेपालमा सुन–चाँदीको मूल्य निर्धारण हुँदै आएको महासंघले जनाएको छ।