काठमाडौं / आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आजदेखि नेदरल्यान्ड्समा आफ्नो महत्वपूर्ण शृंखला सुरु गर्दैछ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीले पहिलो खेलमा नामिबियाको सामना गर्नेछ। लिग–२ को अंकतालिकामा नेपाल हाल पाँचौँ स्थानमा रहेको छ। विश्वकप छनोटको सिधा यात्रालाई जीवित राख्न अब बाँकी रहेका खेलमा उत्कृष्ट नतिजा निकाल्नु नेपालका लागि अनिवार्य बनेको छ। नेदरल्यान्ड्स भ्रमणका क्रममा नेपालले नामिबिया र आयोजक नेदरल्यान्ड्ससँग दुई–दुई खेल खेल्नेछ।
पहिलो खेल आज नामिबियासँग, दोस्रो खेल साउन ७ गते नेदरल्यान्ड्ससँग, तेस्रो खेल साउन ११ गते पुनः नामिबियासँग र अन्तिम खेल साउन १३ गते नेदरल्यान्ड्ससँग हुनेछ। नेपाल र नामिबियाबीच हालसम्म आठ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा नामिबियाले पाँच र नेपालले दुई खेल जितेको छ भने एक खेल नतिजाविहीन रहेको छ।
पछिल्ला दुई भेटमा भने नेपाल घरेलु मैदानमै नामिबियासँग पराजित भएको थियो। हालको अंकतालिकामा अमेरिका शीर्ष स्थानमा छ भने स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमान शीर्ष चारमा छन्। नेपाल २४ अंकसहित पाँचौँ स्थानमा रहेकाले शीर्ष चारमा पुग्न बाँकी खेलमा जित अपरिहार्य छ। लिग–२ को शीर्ष चार टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप छनोटको मुख्य चरणमा सिधै स्थान बनाउनेछन् भने बाँकी टोलीले प्ले–अफ खेल्नुपर्नेछ।
त्यसैले नेदरल्यान्ड्सको यो शृंखला नेपालका लागि विश्वकप यात्राको सबैभन्दा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।






































