काठमाडौं ।अब बजारमा सामान किन्दा सक्कली बिल माग्नु भनेको केवल कर तिर्नु होइन, लाखौँ रुपैयाँ जित्ने अवसर पनि हो। सरकारले कर छलि रोक्न र उपभोक्तामा बिल लिने बानी बसाल्न ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सुरु गरेको छ।
यो योजनाअनुसार करबाहेक कम्तीमा १०० रुपैयाँको सामान वा सेवा खरिद गरी सक्कली बिल लिने उपभोक्ता उपहार योजनामा सहभागी हुनेछन्। हरेक खरिदको बिल नम्बर नै लक्की टिकट बन्नेछ।
सरकारले हरेक दिन एक जनालाई एक लाख रुपैयाँ (कर कट्टापछि) र महिनामा दुई पटक १० लाख रुपैयाँको बम्पर उपहार दिने व्यवस्था गरेको छ। विजेताको छनोट आन्तरिक राजस्व विभागले स्वचालित डिजिटल गोलाप्रथामार्फत गर्नेछ।
डिजिटल भुक्तानीबाट जारी भएका बिल स्वतः प्रणालीमा समावेश हुनेछन् भने नगद भुक्तानीका बिल विभागको प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ। विजेताले सक्कली बिल, नागरिकता वा अन्य परिचयपत्र, प्यान नम्बर र बैंक खाताको विवरण बुझाएपछि उपहार रकम सिधै बैंक खातामा जम्मा गरिनेछ।
तर, सरकारी निकायका खरिद, व्यावसायिक प्रयोजनका बिल, विद्युत्, टेलिफोन, इन्टरनेट, सवारीसाधन, ढुवानी र हवाई टिकट जस्ता कारोबार भने यो योजनामा समावेश हुने छैनन्।
सरकारको विश्वास छ-‘बिल माग्ने बानी’ बढे कर छलि घट्नेछ, कारोबार पारदर्शी बन्नेछ र कर प्रणाली अझ व्यवस्थित हुनेछ।






































