बिर्तामोड / मनोज पण्डित निर्देशक रहेको चलचित्र ‘एक’को डिजिटल मोसन पोस्टर मंगलबार ओएसआर डिजिटल नेपालले सार्वजनिक गरेको छ । नेपाली सिने क्षेत्रमा यो एउटा नौलो प्रयोगको सुरुवात हो । 

 कोरोना महामारीका कारण यतिखेर सिने उद्योग नै धरापमा परेको अवस्थामा चलचित्र  ‘एक’ले भने  ‘डिजिटल रिलिज’ गर्ने भएको  छ । आउँदो असोज २१ गते घटस्थापनाबाट फिल्म डिजिटल प्लेटफर्महरू मार्फत रिलिज हुनेछ ।

OM Sai Pathibhara Hospital

नेपाली राजनीतिमा हुने धोका षड्यन्त्र र बाहिय हस्तक्षेपको कथा रहेको चलचित्र  ‘एक’को मुख्य भूमिकामा विशाल पोख्रेल रहेका छन  । उनी सिनेमामा एक गुप्तचरको भूमिका मा देखिएका छन् । 

राजनीतिमार्फत देशविरुद्ध लाग्नेहरूको विरुद्ध उनले गरेको सङ्घर्षको कथा चलचित्र ‘एक’ले बोकेको छ ।  मधेशको मुद्दामा केन्द्रित रहेको  फिल्मको छायांकन मधेशका फाँटदेखि डोल्पासम्म गरिएको छ। 

चलचित्र  ‘एक’  मनोज पण्डितको सातौँ चलचित्र हो । उनले  यसअघि ग्रेटर नेपाल, दासढुङ्गा, वधशाला जस्ता चर्चित राजनैतिक सिनेमाहरू बनाइसकेका छन्।

सिनेमा हल खुलेको खण्डमा फिल्मलाई सिनेमा हलमा पनि रिलिज गरिनेछ। चलचित्रलाई हलमा वितरण गर्ने जिम्मा जिजिए ग्रुपले लिएको छ । 

कोरोनाका कारण विश्वभरका फिल्म डिजिटल प्लेटफर्ममा रिलिज भइरहेको समयमा यसको विकल्प नरहेको  ‘एक’ का निर्देशक  पण्डितले बताए ।

चलचित्रको  ‘तड्का,तड्का’ बोलको गीत यसअघि नै सार्वजनिक भइसकेको छ ।