बिर्तामोड / निषेधाज्ञाको समयमा भौतिक उपस्थिति विना पठनपाठन गराउँदै आएका बिर्तामोड नगरपालिका क्षेत्रका निजी विद्यालयले विद्यार्थीसँग पहिला जसरी नै शुल्क असुलेको भन्दै अनुगमन गरी नयाँ शुल्क निर्धारण गर्न अविभावकले माग गरेका छन् ।

भौतिक उपस्थिति विना सञ्चालन भईरहेका विद्यालयले विगतमा जसरी नै शुल्क लिएको भन्दै अविभावकले स्थानीय सरकारसँग नयाँ शुल्क कायम गरी कार्यान्वयन गराउन माग गरेका हुन् । निषेधाज्ञाको समयमा विद्यालयको खर्च घटेकाले सोही अनुसार नयाँ शुल्क कायम गर्न अविभावकले स्थानीय सरकारसँग माग गर्दै आएका छन् ।

OM Sai Pathibhara Hospital

शुल्क परिमार्जन गर्न माग गर्दै आएपनि स्थानीय सरकारले वेवास्ता गरेपछि अभिभावक समेत रहेकी सञ्चारकर्मी प्रतिभा पौडेलले नगरपालिकामा लिखित रुपमा नै निवेदन दर्ता गराएकी छन् ।

निषेधाज्ञाको समयमा देशका अन्य नगरपालिका र गाउँपालिकाले अनलाइन कक्षाको छुट्टै शुल्क कायम गरेर कार्यान्वयन गराएको भन्दै उनले निवेदनमा  निजी विद्यालयको अनुगमन गरी नयाँ शुल्क तय गर्न माग समेत गरेकी छन् ।

पौडेलले दिएको निवेदनमा नगरक्षेत्रका केही विद्यालयले पाठ्यक्रम विकास केन्द्रले अनुमति नै नदिएका पुस्तक प्रयोग गर्ने गरेको र शुल्क नतिरेको भन्दै अनलाइन कक्षामा समेत सहभागि हुन बन्देज लगाउने गरेको भन्दै ति विषयमा समेत छानविन गरी अविभावकको हित हुने गरी निर्णय गरिदिन आग्रह गरेकी छन् ।

विद्यार्थीको हक हितका लागि भन्दै राजनिती गर्दै आएका विद्यार्थी सङ्गठनले भने अभिभावकमाथि परेको समस्याका विषयमा भने मौनता साँधेका छन् । विद्यार्थी संगठन यि विषयमा जानकार रहेको भएपनि हालसम्म कुनै ठोस कदम भने चालेका छैनन् ।

सत्तारुढ दल निकटको नेविसङ्घका झापा जिल्ला अध्यक्ष राजेन्द्र उप्रेती(९८०११२९७००)ले निषेधाज्ञाको समयमा समेत विगतमा जसरी नै शुल्क लिएको विषय गम्भिर रहेको बताएका छन् । उनले भौतिक उपस्थिति विना भइरहेको पठनपाठनको शुल्क निजी विद्यालयले विगतमा जसरी लिएको पाइए नेविसंघ अविभावकको हितका लागि आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

पूर्ववत् अवस्थामा जसरी शुल्क लिने निजी विद्यालयका विषयमा आफुहरुलाई अविभावकले शुल्क तिरेको बिल सहित जानकारी गराए ति विद्यालयका विरुद्ध आन्दोलनमा उत्रिने उनले चेतावनी दिएका हुन् ।

त्यसैगरी सत्तारुढ दल निकटकै विद्यार्थी संगठन अखिल क्रान्तिकारीका झापा अध्यक्ष अनिल सुवेदी(९८५२६३३१४७)ले पनि पूर्ववत् समयमा जसरी शुल्क लिएको पाइए आफ्नो संगठन त्यस्ता निजी विद्यालय विरुद्ध आन्दोलनमा उत्रिने बताएका छन् । उनले अविभावकबाट गुनासो आउन थालेको र सो विषयमा आफ्नो सङ्गठनभित्र छलफल चलेको जानकारी समेत गराएका छन् ।

निजी विद्यालयले निषेधाज्ञाको समयमा पनि विगतमा जसरी अनलाइन कक्षाको शुल्क लिएको अविभावकले प्रमाण सहित जानकारी गराए अन्य विद्यार्थी सङ्गठनलाई समेत साथमा लिएर आन्दोलन थाल्ने सुवेदीले चेतावनी दिएका हुन्।

बिर्तामोड नगरपालिकाका मेयर एवं नगर शिक्षा समितिका प्रमुख ध्रुव कुमार शिवाकोटीले निजी विद्यालयले अनलाइन कक्षाका नाममा लिंदै आएको शुल्कका विषयमा उजुरी आएको जानकारी गराएका छन् । उनले नगरपालिकालाई प्राप्त भएको उजुरीका विषयमा अनुगमन र छानविन गर्नका लागि शिक्षा शाखालाई निर्देशन दिएको बताएका छन् ।