काठमाडौं(एजेन्सी)  भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल –१२’ को विजेता पवनदीप राजन भएका छन् । इन्डियन आइडल विजेता पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपियाँसँगै लक्जरी कार जितेका छन् । 

यसैगरी, दोस्रो स्थानको ट्रफी अरुणिता कांजीलालले हात पारिन् भने तेस्रो स्थानको ट्रफी सायली कांबलेले जितेका छन् । यस्तै, चौंथो स्थानमा मोहम्मद दानिश, पाँचौँ स्थानमा निहाल र शनमुखाप्रिया सबैभन्दा कम भोट प्राप्त गरेर छैटौँ स्थानमा परिन् । 

OM Sai Pathibhara Hospital

पवनदीप सिजनको सुरुवातदेखि नै निर्णायकहरु, दर्शक र प्रतिष्पर्धीहरु समेतको प्रिय थिए । पवनदीप सीजन–१२ को सबैभन्दा चर्चित प्रतिष्पर्धी हुन् । उनी गीत गाउँदा आफै बाजाहरु पनि बजाउने गर्छन् । उनलाई गायक बप्पी लहिरीले आफ्नो तबला समेत उपहारमा दिएका थिए ।

को हुन् पवनदीप राजन ?

पवनदीपको जन्म सन् १९९६ को जुलाई २७ मा उत्तराखण्डको चंपावतमा भएको थियो । उनका पिता सुरेश राजन पनि गायक हुन् । उनका पिता उत्तराखण्डको सार्वजनिक कार्यक्रमहरूमा गाउने गर्छन् । उनका दुई बहिनी पनि छन् ।

कलेजका दिनहरूमा पवनदीपले युथ फेस्टिभलमा भाग लिएका थिए । उनी  ‘द भ्वाइस अफ इन्डिया’ पनि गएका थिए । उनले सन् २०१५ मा ‘द भ्वाइस अफ इन्डिया’ जितेका थिए । 

पवनदीपले सन् २०१५ मा ‘यकीन’ गीत रिलीज गरेका थिए । उनी उत्तराखण्डका युथ ब्राण्ड एम्बास्डर पनि चुनिएका थिए । उनले सन् २०१६ मा एरोन हारुन राशिदसँग एल्बममा गीत पनि गाएका थिए । उनले सन् २०१७ मा फिल्म ‘रोमियो एन बुलेट’ मा गीत गाएका थिए ।

पवनदीपले करिब १३ वटा देश र भारतका १४ राज्यमा करिब १२०० वटा शो गरिसकेका छन् ।