बिर्तामोड  / सरकारले कक्षा ८, ९, र १० मा पढ्ने विद्यार्थीका लागि विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम पुस्तक थप गरेको छ । विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापका रुपमा अध्ययन गराउनका लागि  साे पुस्तक थप गरेकाे  हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पुस्तक तयार पारेको हो । विगत दुई वर्षदेखि विभागले विद्यालयस्तरीय आयुर्वेद तथा योग कक्षा सञ्चालन गरिरहेको थियो । तर, सबै विद्यालयमा एकरूपता नभएपछि पुस्तक तयार गरिएको विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले बताए । 

OM Sai Pathibhara Hospital

डा. उपाध्यायका अनुसार पुस्तकलाई तीन भाग र १९ शीर्षक विषयमा बाँडिएको छ । जसमा पहिलो खण्डमा आयुर्वेद तथा आयुर्वेदीय स्वास्थ्य जीवनशैली, दोख्रो खण्डमा योग आसन तथा प्रणायाम र तेस्रो खण्डमा भान्सा तथा घरवरीपरीका औषधीय जडिबुटी सम्बन्धी सामान्य जानकारी राखिएको छ ।

 ‘अतिरिक्त कार्यक्रमअनुसार अध्ययन—अध्यापनको लागि कक्षा ८, ९ र १० का विद्यार्थीलाई मध्यनजर गरी यो पुस्तक ल्याइएको हो,’ डा. उपाध्यायले भने, – ‘एक वर्षको लागि १९ वटा पाठ तय गरिएको छ । जसले विद्यार्थीहरूमा योग तथा आयुर्वेदको विषयमा धेरै ज्ञान पुग्नेछ ।’ 

सरकारले आयुर्वेद कार्यालय र अस्पताल रहेका स्थानीय तहमा यो कार्यक्रम गरिरहेको छ । अब विद्यालय नर्स रहेका विद्यालयमा पनि यो कार्यक्रम अगाडि बढाइएको डा. उपाध्यायले जानकारी दिए । 

भान्सा तथा घर परीपरीका औषधीय जडिबुटी सम्बन्धी सामान्य जानकारीमा अदुवा, अमला, अलैंची, असुरो, कागती, कुरिलो, ज्वानो, मेथी, वेसार, तुलसी, निम, घ्युकुमारी, गुर्जो, घोडताप्रे र लसुनका बारेमा अध्ययन गराइनेछ ।