बिर्तामोड / आर्टिफिसिएल इन्टेलिजेन्स र खेलकुद विषयमा अध्ययनका लागि विदेश जाने क्रम बढेपछि त्यसलाई रोक्नका लागि नेपालमा नै ति विषयमा अध्ययन गराउन दुईवटा विश्वविद्यालयले तयारी पुरा गरेका छन् ।

काठमाडौँ विश्वविद्यालय र गण्डकी विश्वविद्यालयले ति विषयमा अध्ययनका लागि आवश्यक तयारी पुरा गरी भर्ना आव्हान गरेका हुन् । काठमाण्डौ विश्वविद्यालयले नयाँ शैक्षिक कार्यक्रम आर्टिफिसिएल इन्टेलिजेन्स र गण्डकी विश्वविद्यालयले खेलकुद विषयमा अध्ययनका लागि भर्ना आव्हान गरेका छन् ।

OM Sai Pathibhara Hospital

काठमाडौँ विश्वविद्यालयको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागले आगामी सेप्टेम्बर २०२१ बाट आर्टिफिसिएल इन्टेलिजेन्समा स्नातक र स्नातकोत्तर तहका कार्यक्रम सुरु गर्ने जनाएको छ ।  

विभागका डिन प्राध्यापक डा। मनिष पोखरेलले दुवै तहमा अध्ययनका लागि विद्यार्थीको करिव ८ लाख रुपैयाँ खर्च हुने बताएका छन् ।

गण्डकी विश्वविद्यालयले भने यसै वर्षका लागि खेलकुदमा स्नातक तह  ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’ का  लागि भर्ना आव्हान नै गरेको छ । चार वर्षे कार्यक्रम सञ्चालन गर्न लागिएको विश्वविद्यालयले जानकारी गराएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. नवराज देवकोटाले पाठ्यक्रम अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भएर तयार पारिएको जानकारी गराएका छन् । उनले आठ सेमेष्टरमा सञ्चालन हुने कोर्षमा भलिबल, फुटबल, तेक्वान्दो, कराँते, ह्याण्डबल, एथलेटिक्स, जिम्न्यास्टिक, बास्केटबल, आर्चरी, ठेलो, क्रिकेट र स्विमिङलाई समावेश गरिएको बताएका छन् ।

खेलकुद मार्केटिङ, खेलकुद अर्थतन्त्र, ‘फन्डिङ इन स्पोर्ट्स’, ‘स्पोर्ट्स टुरिजम’, ‘स्पोर्ट्स इन ग्लोबलाइजेशन’, ‘स्पोर्ट्स इन मिडिया’, ‘स्ट्राटेजिक म्यानेजमेन्ट इन स्पोर्ट्स इन्डष्ट्रिज’ र  ‘एथलेटिक्स केयर एण्ड रिह्याविलिटेसन’ लगायतका विषय पाठ्यक्रममा समावेश गरिएको छ ।

चार वर्षे स्नातक तहको  शुल्क ३ लाख ३० हजार रुपैयाँ तोकिएको र विद्यार्थीलाई छात्रवृत्तिको समेत व्यवस्था गरिएको विश्वविद्यालयले जनाएको छ । पहिलो वर्ष ५० विद्यार्थीका लागि भर्ना खोलिएको  र आगामी दशैँपछि कक्षा सञ्चालन गरिने विश्वविद्यालयले जानकारी गराएको छ ।