विराटनगर / विराटनगर महानगरपालिकाले विद्यालयलाई अनलाइन कक्षा पढाए बापत ५० प्रतिशत मात्र शुल्क लिन निर्देशन दिएको छ ।

नगरले नगरक्षेत्र भित्रका सबै संस्थागत विद्यालयलाई पत्र काट्दै विद्यार्थीका अभिभावकबाट ५० प्रतिशत मात्रै शुल्क लिन निर्देशन दिएको हो । 

विद्यार्थीहरूले अनलाइन कक्षा लिइरहेको अवस्थामा भौतिक उपस्थिति भएकै शुल्क नअसुल्न महानगर शैक्षिक प्रशासनले निर्देशन गरेको छ । ५० प्रतिशत शुल्क लिदाँ समेत अभिभावकको सहमति लिनुपर्ने निर्देशनमा भनिएको छ । 

महामारीका कारण अभिभावकले समेत रोजगारी गुमाएको, व्यापार–व्यवसायमा ह्रास आएको भन्दै मासिक शुल्क आधा मात्रै लिनका लागि निर्देशन गरिएको छ ।

महानगरले अभिभावक र व्यवस्थापन पक्षसहितको उपस्थितिमा अनलाइन कक्षाको शुल्क निर्धारण गरिने उल्लेख गरेको छ । तर, त्यस अगाडी ५० प्रतिशतमा नबढ्ने गरि शुल्क असुल गर्न महानगर शैक्षिक प्रशासन प्रमुख दुर्गाप्रसाद खतिवडाले निर्देशन गरेका हुन् ।

विद्यालय सञ्चालकले महामारी अगाडि सरहकै शुल्क अभिभावकबाट लिदैं आएका छन्, नगर शिक्षा प्रमुख खतिवडाले भने – ‘यो अभिभावकले थेग्न नसक्ने गुनासो बढ्दै गएकोले ५० प्रतिशत मात्रै लिनका लागि निर्देशन गरेकाे खतिवडाले बताए ।’

महानगरले निर्धारण गरेको शुल्कको विषयमा भने निजी तथा आवासीय विद्यालय अर्गनाइजेशनले भने अमान्य भन्दै अस्वीकार गर्ने बताएको छ । कुनै छलफल नै नभईकन महानगरले शुल्क निर्धारण गरेको बताउँदै त्यसलाई मान्न नसकिने प्रतिक्रिया जनाएको हो । 

प्याब्सन महानगरका अध्यक्ष इन्द्र राईले गतवर्षको शुल्क नबढाइकन लिने सहमति दिएको महानगरले अहिले त्यससँग बाँझिने गरि परिपत्र गरेको बताए ।