बेलबारी / मोरङको बेलबारीस्थित बेलबारी बहुमुखी क्याम्पस विरुद्ध नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिले अख्तियारमा उजुरी दिएको छ ।

संघले कानुन विपरित क्याम्पस प्रमुख नियुक्ति गरेको भन्दै शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी दिएको हो । 

OM Sai Pathibhara Hospital

बेलबारी बहुमुखी क्याम्पसको सञ्चालक समितिले बेलबारी नगरपालिकाका शिक्षा शाखामा प्रमुख भुपेन्द्र प्रसाद कोइरालालाई दोहोरो सुविधा र जिम्मेवारी पाउने गरी गत साउन ४ गते क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

दुई वटा कार्यालयको प्रमुख पदमा एउटै व्यक्तिलाई गैरकानुनी ढङ्गले दोहोरो सुविधा हुनेगरि नियुक्त गरेको भन्दै नेविसङ्घले क्याम्पस प्रमुख नियुक्ति विरुद्ध उजुरी दिएको बताएको छ । 

नियम विपरित दोहोरो जिम्मेवारी र सुविधा पाउने गरी कोइरालालाई क्याम्पस प्रमुख नियुक्त गरिएको विषयबारे आधिकारिक संस्था, व्यक्ति माथि छानविन गरी आवश्यक कानुनी कारवाही अघि बढाउन नेविसङ्घले अख्तियारमा निवेदन दिएको हो ।

क्याम्पस इकाईका कार्यवाहक सभापति सुजन अधिकारीको हस्ताक्षर रहेको उजुरीपत्रमा खोजी तथा अनुसन्धान गरिनुपर्ने १३ वटा आधारहरू बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।