धनगढी / कक्षा १२ को परीक्षा श्रावण ३१ गतेदेखि भदौ ९ गते सम्म हुने निर्णय भएको छ । राष्ट्रिय परीक्षा वोर्ड , प्रदेश परीक्षा व्यवस्थापन कार्यालय धनगढीले परीक्षा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

परीक्षा बिहान ११ बजेदेखि २ बजे सम्म हुनेछ । कोरोना विरुद्ध उचित स्वास्थ्य मापदण्ड अपनाएर भौतिक रूपमा सबै विद्यालयमा परीक्षा केन्द्र ( होम सेन्टर ) मा परीक्षा सञ्चालन हुने व्यवस्था भएको छ ।

OM Sai Pathibhara Hospital

हाल परीक्षा केन्द्रमा उत्तर पुस्तिका, प्रवेश पत्र लगायतका सामग्री पुर्याउने काम भइरहेको प्रदेश परीक्षा व्यवस्थापन कार्यालय प्रमुख उत्तमदेव विष्टले जानकारी दिएका छन् । कैलाली - कञ्चनपुर र पहाडी सात जिल्लाको हकमा इन्टरनेटको सुविधा भएको परीक्षा केन्द्रहरूमा अनलाइन विधिबाटै प्रश्न पत्र पठाउने र सम्भव नदेखिएका ठाउँमा प्रश्न पत्र पठाउने तयारी भएको बिष्टले जानकारी दिएका छन् ।

कक्षा १२ को प्रयोगात्मक परीक्षा भाद्र १६ गतेभित्र सम्पन्न गरी बोर्डमा पठाउन विद्यालयहरूलाई निर्देशन दिइएको छ । गत जेठमा सञ्चालन हुने भनिएको परीक्षा कोभिड -१९ को सङ्क्रमण उच्च भएपछि स्थगित भएको थियो । बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मूल्याङ्कनका लागि परीक्षा लिएकोमा यस वर्ष शतप्रतिशत नै परीक्षा लिने भएको छ ।