इटहरी / शिक्षा र स्वास्थ्यका क्षेत्रमा योग्यता अनि क्षमताका आधारमा नियुक्त गर्नु पर्ने माग सहित काठमाण्डौ र धरान सहित देशभर आन्दोलन भईरहेका बेला सरकारले फेरि मापदण्ड विपरीत पूर्वाञ्चल विश्वविद्यालयको अस्पताल निर्देशकमा योग्यता नै नपुगेका चिकित्सकलाई  नियुक्त गरेको सार्वजनिक भएको छ ।  

धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रको बेथिति र भ्रष्टाचारको विषयलाई लिएर सुरु भएको आन्दोलनको मुख्य माग नै शिक्षा र स्वास्थ्यका क्षेत्रमा राजनीतिक नियुक्ति बन्द गर्नु पर्ने रहेकै समयमा विश्वविद्यालयमा मापदण्ड विपरीत अस्पताल निर्देशक नियुक्त गरिएको सार्वजनिक भएको हो ।

राजधानीमा नागरिक आन्दोलनका अगुवाले योग्यता र क्षमताका आधारमा नियुक्त गर्नु पर्ने माग सहित दैनिक प्रर्दशन गरिरहेकै समयमा मोरङको गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पतालको निर्देशकमा कांग्रेस नेताको दबाबमा उपप्राध्यापकको फर्जी कागजात देखाएर डा. बिकेश आचार्यलाई नियुक्त गरिएको हो ।

विगतमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार रहेकै बेला पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पतालको निर्देशकमा ठाडो आदेशमा नियुक्त भएका डा. बिकेश  आचार्यलाई नै फेरि मापदण्ड मिचेर कांग्रेसकै सरकार रहेको बेला नियुक्त गरिएको हो ।

उपप्राध्यापक र अस्पताल प्रशासन सम्बन्धी ज्ञान तथा अनुभव भएको व्यक्तिलाई अस्पताल निर्देशक बनाउनु पर्ने भने कांग्रेसको प्रभावशाली कोइराला परिवारको दबाबमा आचार्यलाई अस्पताल निर्देशकमा नियुक्त गरिएको विश्वविद्यालयका प्राध्यापक र कर्मचारीले बताएका छन् ।

कांग्रेसकै सरकार रहेको फाइदा उठाउँदै विगतमा अस्पताल निर्देशकको पद हत्याउन सफल भएका उनको कार्यकालमा वेवारिसे अनि लथालिंग बनेको अस्पतालको जिम्मा फेरि नियम र मापदण्ड मिचेर उनैको काँधमा सुम्पिएपछि विश्वविद्यालय भित्र विरोध सुरु भएको छ ।

विश्वविद्यालयले गत मंसिर १२ गते अस्पताल निर्देशकका लागि खुला आवेदन मागेको थियो । आवेदन दिएकामा मापदण्ड पुगेकालाई पन्छाएर उपकुलपति डा. यादव कोइरालाले आचार्यलाई नियुक्त गरेपछि विश्वविद्यालय भित्रैबाट विरोध सुरु भएको छ । विश्वविद्यालयको सूचना शाखामा कर्मचारीले उनको योग्यता र नियुक्तिको कागजात मागेर सूचनाको हक सम्बन्धी कानुनको उपयोग गरी निवेदन समेत दर्ता गराएका छन् ।

विश्वविद्यालयका सूचना अधिकारी टेक प्रसाद अधिकारीले उनको नियुक्तिको विषयमा कागजात माग्दै निवेदन आएको स्वीकार गरेका छन् । उनले सम्बन्धित ठाउँबाट नियुक्तिका विषयमा आवश्यक कागजात प्राप्त नभएकाले निवेदकलाई उपलब्ध गराउन नसकेको बताएका छन् ।

अस्पताल निर्देशकमा नियुक्त आचार्य प्याथोलोजिष्ट हुन् । उनले चीनबाट प्याथोलोजिमा एमडी गरेका छन् । विगतमा केही सरकारी अस्पताल र निजी अस्पतालमा काम गरेका उनले कुनै पनि विश्वविद्यालयबाट हालसम्म पनि उपप्राध्यापकको योग्यता हासिल गरेका छैनन् ।