काठमाडौं // एन्फाले अब्दुल्ला अलमुताइरीलाई राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण दिनबाट रोक लगाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायलाई आइतबार पत्र लेख्दै अर्को निर्णय नभएसम्मका लागि अलमुताइरीलाई प्रशिक्षण दिनबाट रोक लगाएको हो।
शुक्रबार बसेको एन्फा केन्द्रिय कार्यसमितिको आपतकालीन बैठकले अलमुताइरी र एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङबीचको विवादका विषयमा छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
सोहि निर्णय अनुसार मन्त्रालयलाई पनि पत्र लेखिएको र विवादपछि मात्रै एन्फाले अर्को निर्णय लिने प्रवक्ता किरण राइले जानकारी गराएका छन्।
यता सोमबारदेखि नै राष्ट्रिय टोलीलाई प्रशिक्षण गराउन छाडेका अलमुताइरी शनिबार राष्ट्रिय टोली सम्मिलित खेलाडीको मैत्रीपूर्ण खेल खेल्नका लागि भने एन्फा पुगेका थिए ।
पुजन उपरकोटी प्रशिक्षक रहेको टोली विरुद्ध नितिन थापाको टोलीबाट अलमुताइरीले खेलेका थिए ।
राष्ट्रिय टोलीको प्रशिक्षण केहि समय रोकिने भएको छ।
राष्ट्रिय टोलीले १० दिनपछि पोखरामा प्रशिक्षण गर्ने निर्णय तय भएको छ।
अलमुताइरीेले भने एन्फामा दिएको निवेदनमा नै अगष्ट १० सम्म छानविन नभए एन्फाकै अनुरोधमा स्थगित राजीनामा प्रक्रिया पूरा गरेर देश छोड्ने बताएका छन्।





































