वाग्मती / साउन ३१ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षामा मकवानपुर जिल्लाबाट पाँच हजार ३९१ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डको हेटौँडा कार्यालयले जानकारी दिएको छ ।

विश्वव्यापीरुपमा महामारीका रुपमा फैलिएको कोरोना जोखिम नै रहेको अवस्थामा विद्यार्थीहरुको भौतिक उपस्थितिमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी परीक्षा सञ्चालन हुने कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

यस वर्ष विद्यार्थीले आफू अध्ययनरत् कलेज तथा विद्यालयबाट  कक्षा १२ को परीक्षामा सहभागी हुन पाउनेछन् । जिल्लाको सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने मकवानपुर बहुमुखी क्याम्पसबाट एक हजार ३०० विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने सो क्याम्पसले जनाएको छ ।

त्यस्तै हेटौँडा क्याम्पसबाट नियमिततर्फ ३१३ जना विद्यार्थी कक्षा १२ को सो परीक्षामा सहभागी हुने हेटौँडा क्याम्पसका प्रमुख देवेन्द्र मानन्धरले जानकारी दिएका छन् ।