सुर्खेत  / संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि मध्यपश्चिम विश्वविद्यालयले मंगलबारदेखि सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा स्थगित गरिएको छ । सोमबार मध्यराति सूचना जारी गर्दैै व्यवस्थापन कार्यालयले एक साताका लागि सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो ।

यस अघि व्यवस्थापन कार्यालयले सोमबार बिहान सूचना जारी गर्दै पूर्वप्रकाशित तालिका अनुसार नै परीक्षा हुने बताएको थियो । विश्वविद्यालयले आज (१२ गते) देखि विज्ञान तथा प्रविधि संकायको स्नातक तह र १३ गतेदेखि स्नातकोत्तर तहको परीक्षा भौतिक उपस्थितिमा लिने जनाएको थियो । विद्यार्थीहरुले भने अनलाइनमार्फत् परीक्षा हुनुपर्ने लगायतका माग राख्दै आन्दोलन जारी राखेका थिए । विश्वविद्यालयले विद्यार्थी आन्दोलनलाई नै कारण देखाउँदै परीक्षा स्थगित गरिएको जनाएको छ ।

OM Sai Pathibhara Hospital

‘विज्ञान तथा प्रविधि संकार्यतर्फ १२ गतेदेखि सञ्चालन हुने स्नातक तह र १३ गतेदेखि सञ्चालन हुने स्नातकोत्तर तहको सत्रान्त परीक्षा लगायत अन्य संकायका पूर्वनिर्धारित परीक्षा सम्बन्धि कार्यक्रमरू एक हप्ता पछाडि सार्ने गरी स्थगित गरिएको छ,’ परीक्षा व्यवस्थापन प्रमुख डा। आनन्द प्रसाद सुवेदीद्वारा जारी सूचनामा भनिएको छ ।

कोरोना महामारीका कारण विद्यार्थीहरुले अनलाइन माध्यमबाट परीक्षा हुनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका छन् । तर त्रिभुवन विश्वविद्यालयले भने दुई वर्षदेखि रोकिएका परीक्षा हाल भौतिक उपस्थितिमै लिइरहेको छ । लोक सेवा आयोगले पनि भौतिक उपस्थितिमै परीक्षा लिन थालेको छ ।

तर मध्यपश्चिम विश्वविद्यालयका आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले भने अनलाइनमाध्यमबाट पढाइ भएकाले अनलाइन माध्यमबाटै परीक्षा लिनुपर्ने लगायतका विभिन्न १९ बुँदे माग राख्दै गत आइतबारदेखि आन्दोलन गरिरहेका छन् । बिहीबार विद्यार्थीहरुले विश्वविद्यालयमा अनिश्चितकालीन तालाबन्दी समेत गरेका थिए ।

गत आइतबार विश्वविद्यालयसमक्ष आफुहरुले राखेका मागहरुप्रति ध्यान नदिइएको भन्दै  विश्वविद्यालयको केन्द्रीय क्याम्पस, परीक्षा व्यवस्थापन कार्यालयलगायत सम्पूर्ण संकायको क्याम्पसहरुमा अनिश्चितकालका लागि बिहीबार तालाबन्दी गरिएको विद्यार्थी नेता महेश जिसीले बताए ।

विश्वविद्यालयले समस्या समाधानका लागि भन्दै प्रा. डा. दीपबहादुर रावलको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय समस्या समाधान समिति गठन गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको छ ।