बिर्तामोड / पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७७/०७८ मा शून्य रहेको अध्यागमन कार्यालय झापाले जनाएको छ । कोभिड –१९ का कारण सरकारले पर्यटकलाई सिमानाकाबाट नेपाल प्रवेशमा रोक लगाएसँगै यो नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या शून्य भएको हो । 

अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख जनक कोइरालाले कोरोना भाइरसको महामारीका कारण आर्थिक वर्ष २०७६/०७७ को चैत ११ गतेदेखि हालसम्मको अवधिमा एकजना पर्यटक पनि नेपाल प्रवेश नगरेको बताए ।

OM Sai Pathibhara Hospital

नेपाल सरकारले विदेशी पर्यटकलाई हवाई मार्गबाट मात्र नेपालमा प्रवेश खुल्ला गरेको तर सिमानाकाबाट अझै प्रवेशमा रोक लगाइरहेको उनले बताए । उनका अनुसार यो नाका भएर विदेश जाने पर्यटकका लागि १५ महिनाको अवधिमा एउटै पनि भिसा जारी भएको छैन । 

उनले भारतीय नाकासम्म आएका पर्यटकले नेपाल घुम्न आउनका लागि अध्यागमन कार्यालयमा सम्पर्क गरिरहेको बताए । “धेरै तेस्रो मुलुकबाट आउने पर्यटकले नेपाल घुम्नका लागि आएका छौँ, व्यवस्था मिलाइदिनु प¥यो भनेर भारतीय सीमा क्षेत्रमा आएर सम्पर्क गर्नुहुन्छ”, उनले भने, “तर कोभिड –१९ का कारण नाकाबाट अहिले तपाईँहरूलाई प्रवेश निषेध छ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउनुहोस् भनेर अनुरोध गर्छौँ ।”