काभ्रेपलाञ्चोक / कोरोना सङ्क्रमणको जोखिम कायमै रहँदा मण्डनदेउपुर नगरपालिकाको विद्यालयमा भौतिकरुपमा विद्यार्थी उपस्थिति गराई पठनपाठन शुरुआत गरिएको एक हप्ता भयो । नगरका विद्यालयमा कक्षागत समय विभाजन गरी शैक्षिक गतिविधि शुरु गरिएको नगर शिक्षा शाखाले जनाएको छ ।

स्वास्थ्यसुरक्षाका मापदण्ड अपनाइ भौतिक दूरी कायम गर्दै निश्चित समयभित्र तोकिएको शैक्षिक गतिविधि थालिएको नगर शिक्षा शाखाप्रमुख लोकेन्द्र विष्टले जानकारी  दिएका छन्  वैकल्पिक शैक्षिक सिकाइ गर्नेगरी समयमा विभाजन गरी विद्यालय खुलाएका हौँ”, उनी भन्छन् । उनका अनुसार नयाँ शैक्षिकसत्र २०७८ अन्तर्गतको कक्षामा पठनपाठन शुरु गरिएको हो ।

OM Sai Pathibhara Hospital

शाखाका अनुसार दैनिक छुट्टाछुट्टै कक्षामा विद्यार्थी बोलाई शैक्षिक क्रियाकलाप गरिने जनाइएको छ । आइतबार एकदेखि तीन कक्षा, सोमबार ४ देखि ५ कक्षा गर्दै क्रमशः १२ कक्षासम्मका विद्यार्थीलाई पठनपाठन गर्न थालिएको हो । शिक्षकविद्यार्थीलाई भने अनिवार्य भौतिक दूरी र स्वास्थ्यका मापदण्ड अपनाउन भनिएको जनाइएको छ ।

मण्डनदेउपुर नपा१० उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष रामबहादुर लामाले भौतिक दूरी कायम गर्दै स्वास्थ्यका मापदण्ड अपनाई विद्यालय गत आइतबारदेखि नगरको निर्णयसँगै खुलाइएको बताएका छन् ।

 उनी भन्छन् , “आलोपालो प्रणालीमा विद्यालयमा विद्यार्थी बोलाइएको छ, यसले विद्यालय आउने बानी बस्नुका साथै पढाइप्रतिको रुचि जाग्नेछ ।उनले विशेषगरी शिक्षकविद्यार्थीले अनिवार्य भौतिक दूरी कायम गर्दै र स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने बताएका छन् । मण्डनदेउपुर नगरमा २८ आधारभूत, १२ माध्यमिक, एक क्याम्पस र ४२ बालविकास केन्द्र छन् ।

तेमाल गाउँपालिकाले आफ्ना क्षेत्रका सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन नै दिएको छ । शुक्रबार गाउँपालिकाको प्रमुख प्रशासकीय प्रमुख लक्षण कुईंकेलले विद्यालय सञ्चालन सम्बन्धमा विज्ञप्ति जारी गर्दै लामो समयदेखि अवरुद्ध विद्यालयको पठनपाठन सञ्चालन गर्न चारबुँदे निर्देशनसमेत गरेका छन् ।

निर्देशनमा स्वास्थ्यसम्बन्धी मापदण्ड तथा भौतिक दूरी कायम गरी विद्यालय सञ्चालन गरी भौतिकरुपमा शैक्षिक क्रियाकलाप गर्नुपर्ने, त्यसो गर्न नसकिए वैकल्पिक माध्यमबाट पठनपाठन गराउनुपर्ने तथा टाढाबाट आएका शिक्षकलाई कोरोनाविरुद्धको खोप अनिवार्य लगाई नियमित काममा खटाउन प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापनलाई आग्रह गरिएको उल्लेख छ । तेमालमा भने ४१ सामुदायिक विद्यालय छन् ।

केन्द्रीय सरकारले विद्यालय खुलाउने निर्णय नगरी स्थानीय तहले आफूखुशी विद्यालय सञ्चालन गर्न लागेकामा आपत्ति व्यक्त गर्दै महामारीको जोखिममा आफूखुशी निर्णय गर्नु उपयुक्त नभएको जिल्ला कोभिड१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)का संयोजक शिवराम पोखरेलले बताएका छन् ।

उनी भन्छन् , “संवेदनशील विषयमा आफूखुशी निर्णय गर्नु राम्रो होइन, यदि सोही कारण भयाभह अवस्था आए स्वयं जिम्मा लिनुपर्ने पनि हुनसक्छ ।यसबारे जिल्लास्थित सरोकारवालासँग छलफल गरिने  प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । जिल्लाका कूल ६९० विद्यालयमध्ये ५८७ सामुदायिक विद्यालय छन् ।

पछिल्लो केही हप्तादेखि काभे्रमा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्नुका साथै दैनिकजसो एक सङ्क्रमितको मृत्यु हुने गरेको केन्द्रको तथ्याङ्कले देखाएको छ । कोरोनाका कारण शनिबार जिल्लाका दुईको मृत्यु भयो भने शुक्रबार एकको मृत्यु भएको छ । तीन हप्ताअघिसम्म करीब ३०० को हाराहारीमा झरेको सङ्क्रमितको सङ्ख्या हाल दोब्बरको अवस्थामा रहेको देखिन्छ । काभ्रेमा हालसम्म सङ्क्रमित १२ हजार २१४ मध्ये ११ हजार ४३१ सङ्क्रमणमुक्त भएका छन् भने १७६ को मृत्यु भइसकेको छ ।

जिल्लाका हाल ६०८ सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा १२०, धुलिखेलमा १३४, पनौतीमा १५४, पाँचखालमा १०८, नमोबुद्धमा ४५, मण्डनदेउपुरमा छ तथा रोशी गाउँपालिकामा १०, चौँरीदेउरालीमा चार, तेमालमा १०, भुम्लु तीन, बेथानचोकमा १२ र महाभारत गाउँपालिकामा दुई सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो । तेह्र स्थानीय तहमध्ये खानीखोला गाउँपालिका हाल कोरोना सङ्क्रमणमुक्त अवस्थामा छ ।