एजेन्सी / जापानको राजधानी टोकियोमा जारी ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक –२०२०) मा आयोजक राष्ट्र तालिकाको शीर्ष स्थानमा रहेको छ ।

जापानले पहिलो दिनको खेल सकिदासम्म तीन स्वर्ण र एक रजतसहित चार पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ । जापानलाई पछ्याउँदै चीन दोस्रो स्थानमा पुगेको छ । चीनले तीन स्वर्ण र दुई कांस्य पदक हात पार्दै दोस्रो स्थानमा सुरक्षित छ ।

OM Sai Pathibhara Hospital

यसैगरी संयुक्त अधिराज्य अमेरिका एक स्वर्ण, दुई रजत र चार कांस्य पदक सुरक्षित गर्न सफल भएको छ । यसैगरी इक्वेडर, हंगेरी, इरान, कोशोभो र थाइल्यान्ड, अष्ट्रेलिया, रुस, कोरिया समान १–१ स्वर्ण पदक जितेका छन् । यस्तै सर्विया, बेल्जियम, स्पेन, भारत, नेदरल्यान्ड्स, रोमानिया, चाइनिज ताइपेई र ट्यूनिसिया एक/एक रजत पदक प्राप्त गरेका छन् । टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोली गरेर हालसम्म २८ देशले पदक जित्न सफल भएका छन् ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये कल्पना परियारले आफ्नो विधा १० मिटर एयर राइफलमा आफ्नो प्रदर्शन सुधार गर्दै राष्ट्रिय कीर्तिमानमा सुधार गरेपनि दोस्रो चरणमा पुग्न सकिनन् ।

कल्पनाले दुई वर्षअघि नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आफैँले बनाएको राष्ट्रिय कीर्तिमान भंग गरिन् । उनले ६१६.८ अंक जोडिन् । यसअघि उनको नाममा ६१४.५ अंकको कीर्तिमान थियो ।

४८ केजीमुनि प्रतिस्पर्धा गरेकी जुडोकी सोनिया भट्ट पहिलो बाउटमै रसियन खेलाडी इरिना डोल्गोभासँग १ मिनेट १६ सेकेन्डमा नकआउट हुन पुगिन् ।

टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । एलेक्सले पुरुष १०० मिटर फ्रि स्टाइलमा मंगलबार तथा गौरिकाले महिला १०० मिटर फ्रि स्टाइलमा बुधबार प्रतिस्पर्धा गर्नेछिन् । सरस्वती चौधरीले महिला १०० मिटर दौडमा शुक्रबार प्रतिस्पर्धा गर्नेछिन् ।