डडेल्धुरा / छ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने डडेल्धुरामा करीब ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यस वर्षको अहिलेसम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।

समयमै मनसुन वर्षा भएका कारण डडेल्धुरामा यो वर्ष साउन पहिलो सातामै ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले जानकारी दिएका छन् । नियमित रुपमा वर्षा भएका कारण सिँचाइ हुने जमीनका साथै सिँचाइ नहुने जमीनमा समेत यो वर्ष रोपाइँ गर्न किसानलाई सहज भएको छ । निरन्तरको वर्षा र समयमै धानको बेर्ना राख्न पाएका कारण प्रायःजसो ठाउँमा रोपाइँ सम्पन्न गरिएको छ ।

OM Sai Pathibhara Hospital

जिल्लाको भित्रीमधेश क्षेत्र जोगवुडा, परशुराम आलितालमा मुख्य रुपमा धान रोप्ने गरिन्छ । त्यसैगरी भागगेश्वर, नवदुर्गा, अजयमेरु, गन्यापधुराको सकायल, कोरोल, अशिग्राम क्षेत्र, अमरगढीको केही स्थानमा वर्षेबालीका रुपमा धान रोप्ने गरेको पाइन्छ । यो वर्ष समयमै रोपाइँ भएका कारण धान उत्पादनमा वृद्धि हुने विश्वास लिइएको छ । डडेल्धुरामा ६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको छ ।