काठमाडौँ / 'ईद ऊ जोहा' अथवा 'ईल उद अधा', धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस बर्षको बकर ईद पर्व मनाँउदै छन् । ईस्लाम पात्रो 'हिजारी सम्वत' अनुसार नयाँ वर्षको 'जुल हिज्जा' महिनाको १०औं दिन यो पर्व मनाइन्छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहेको छ ।

आजको दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गर्ने चलन छ।

OM Sai Pathibhara Hospital

काठमाण्डौको दरबारमार्गमा रहेको नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गरे पनि कोरोनाको जोखिम रहेकाले घरमै बसेर सुरक्षितरुपमा मनाउन मुस्लिम आयोगको आग्रह छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

यस्तै, बकर इदको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई बलियो बनाउने बताएका छन् । भौगोलिक, जातीय र सांस्कृतिक विविधता नेपाली समाजको मौलिक पहिचान भएको उनको भनाइ छ । 

आजका दिन राष्ट्रिय विदा समेत घोषणा भइसकेको छ ।