बनेपा / काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ११ कुरुगाउँमा वडा कार्यालय भवन निर्माण सम्पन्न भएपछि आफ्नै भवनबाट सेवा शुरु हुने भएको छ । चार वर्षदेखि भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको नमोबुद्ध–११ को वडा कार्यालय सोमबार नगरप्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले उद्घाटन गरेपछि आफ्नै सुविधा सम्पन्न भवनमा सरेको हो ।
वडा कार्यालय भवनसँगै कुरुगाउँ आधारभूत स्वास्थ्य केन्द्रको भवनसमेत निर्माण गरिएको छ । पक्की भवन निर्माण भएर सञ्चालनमा आएसँगै वडावासीलाई स्वास्थ्य सेवा प्रदान गर्न थप सहज भएको छ । भवन ५५ लाख रुपैयाँको लागतमा निर्माण व्यवसायीमार्फत निर्माण भएको हो । स्वास्थ्य केन्द्रको भवन ३३ लाख १० हजार रुपैयाँ तथा १५ प्रतिशत जनसहभागितासहित स्थानीय उपभोक्तामार्फत निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख तिमल्सिनाले भौतिक पूर्वाधारको काममा प्राथमिकताका साथ लागिपरेको बताएका छन् । सबै वडामा प्रशासनिक भवन तथा स्वास्थ्य केन्द्र निर्माणको काम भइरहेको र मुख्य सडक स्तरोन्नति तथा कालोपत्र गर्ने काम भएको उनको भनाइ छ । सबै वडाको केन्द्रसम्म पुग्ने सडकसमेत निर्माण भएको तिमल्सिनाले बताएका छन् । नगरको ऐतिहासिक दाप्चा क्षेत्रको पुनःनिर्माणको काम अघि बढाउन लागिएको जानकारी दिँदै तिमल्सिनाले वडा नं ११ मा सडक, खानेपानी आदिको व्यवस्थापनमा विशेष जोड दिइएको उल्लेख गरेका छन् । नगरमा कृषि औद्योगिकीकरणमा पनि विशेष जोड दिइएको र सोही अनुसारका नीति तथा कार्यक्रम तय गरेर कार्यान्वयनमा लगिएको उनले बताएका छन् । वडा नं ११ मै धुलिखेल अस्पतालसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र निर्माणका लागि कामसमेत शुरु गर्न लागिएको उनको भनाइ छ ।
नमोबुद्धले नगरवासीलाई सहजरूपमा सेवा प्रदान गर्नका लागि वडा कार्यालय तथा स्वास्थ्य संस्थाको भवनलाई प्राथमिकतामा राखेर निर्माण गरेको थियो । सोहीअनुसार पहिलो चरणमा वडा नं ११ सहित वडा नं ३ र ६ को कार्यालय निर्माणको काम सम्पन्न गरिसकेको छ । दोस्रो चरणमा वडा नं २, ७, ८ र ९ को कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । यसै आर्थिक वर्षमा वडा नं १, ४ र ५ को कार्यालय निर्माणका लागि प्रक्रिया शुरु भइसकेको जनाएको छ । नगरपालिकाले नगरको प्रमुख प्रशासकीय भवनको पूर्णरूपमा निर्माणको कामसमेत सकिसकेको छ ।
कार्यक्रममा उपप्रमुख रामदेवी तामाङले नगरमा भौतिक संरचनाको विकास तीव्ररूपमा भएको बताउँदै त्यसको सही सदुपयोग गर्न सबै पक्षलाई आग्रह गरेका छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नगरवासीले सहजरूपमा सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले वडा भवन निर्माण साथै मोबाइल एप्लिकेसनमार्फत राजश्व भुक्तानीको व्यवस्थापन गरिएको बताएका छन्। वडा नं ११ का अध्यक्ष कृष्णबहादुर तामाङले दाप्चा सडकबाट वडा कार्यालयसम्म जोड्ने सडक स्तरोन्नति गरिने बताएका छन्। वडावासीको साथ र सहयोगकै कारण वडा कार्यालय तथा स्वास्थ्य केन्द्र निर्माण सम्पन्न भएको बताउँदै उनले स्थानीय तहबाट जनताले प्राप्त गर्ने सेवासुविधालाई सहज र सुलभ तरिकाबाट प्रदान गर्न थप मद्दत पुग्ने बताएका छन्।