बिर्तामोड / नेपालले फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने भएको छ । कोरोनाका कारण नेपालले च्याम्पियनसिप नखेल्ने भएको हो । 

यसअघि नेपालसहित १२ टिमले च्याम्पियनसिप खेल्ने भनिएको थियो । तर एभीसीले सार्वजनिक गरेको टिम पुल अनुसार ८ टिम मात्र छन् । च्याम्पियनसिपमा अब आयोजक फिलिपिन्स, थाइल्याण्ड, दक्षिण कोरिया, काजकिस्तान, चाइनिज ताइपेई, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले मात्र सहभागिता जनाउनेछन् । यसअघि खेल्ने भनिएकामध्ये नेपाल, भारत, जापान र हङकङले भने नखेल्ने भएका छन् ।

OM Sai Pathibhara Hospital

नेपाल भलिबल संघ (एनभीए)का उपाध्यक्ष निरोज मास्केले नेपालले नखेल्ने भएको बताइन् । उनले त्यसबारे थप जानकारी भने थाहा नभएको बताइन् । 

च्याम्पियनसिपका लागि नेपालले एक महिनादेखि बन्द प्रशिक्षण शुरु गरेको थियो । शुरुमा २७ खेलाडीले प्रशिक्षण गरेकोमा अहिले १८ खेलाडी प्रशिक्षणमा छन् । पहिलो पटक एसियन च्याम्पियनसिप खेल्न खेलाडीदेखि संघ सबै उत्साहित थिए । तर अन्तिम समयमा नेपालको नाम हटेको हो ।

एसियन च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ ।