सिमकोट / दुर्गम हिमाली जिल्ला हुम्लाका युवाहरुले पूर्खालाई सम्झिँदै गोठालाको कथामा आधारित म्युजिक भिडियो निर्माण गरेका छन् । पछिल्लो समय मध्यपश्चिम तथा सुदूरपश्चिमको देउडा ठाडी भाका गीत लोप हुँदै गएपछि हुम्लाका युवाहरू मिलेर हुम्लामै देउडा गीतको म्युजिक भिडियो छायाङ्कन गरेका हुन् ।

देउडा संस्कृतिलाई माया गर्ने स्रष्टाहरूलाई बजारीकरणमा टिक्न र बिक्न समस्या भएपछि लोप हुन थालेको देउडा ठाडी भाका गीतमा स्थानीयस्तरमै युवाहरू म्युजिक भिडियो उत्पादनमा लागेका हुन् । समयको परिवर्तनसँगै बजारमा रिमिक्स, आधुनिक, लोकगीत-सङ्गीत हाबी हुँदा छुट्टै पहिचान बोकेको देउडा ठाडी भाका लोप हुँदै गएकाले स्थानीयस्तरमै देउडा ठाडी भाका गीतको छायाङ्कन गरिएको निर्देशक एवं पत्रकार पदमराज हमालले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

जिन्दगी अधुरो बनाई छोडी बाईगई मायाबोलको देउडा ठाडी भाका गीत हुम्लामै पहिलोपटक निर्माण गरिएको निर्देशक हमालले बताएका छन् । गोठालाहरूको दुःख पीडालाई आधार बनाई माया प्रेम झल्काउने गीतको भाव रहेको निर्देशक हमालको भनाइ छ । गीत स्थानीय गायक मनबहादुर थापाको स्वर र शब्दमा रहेको छ ।

म्युजिक भिडियोमा पनि हुम्लाकै स्थानीय कलाकारहरुको अभिनय रहेको बताइएको छ । गीतमा हुम्लाका सञ्चारकर्मी नरजन तामाङ, उर्मिला शाही र विष्णु बुमीको अभिनय रहेको छ। जिल्लाकै पत्रकार हमाल, अविनाश लामा र अर्जुन बोहराले गीतको छायाङ्कन गरेका छन्।