स्पेन / स्पेनमा हुने भनिएको नेपाल, नामिबिया र स्कटल्यान्डबीचको आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज कोरोना भाइरसले स्थिति असहज भएपछि स्थगित भएको छ।

 नामिबिया क्रिकेट टिमका ४ भन्दा बढी खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएको बुधबार खबर आएपछि, नेपाली टिम सिरिज हुनेमा ढुक्क नभएको नेपाली क्रिकेट टिम स्रोतले जनाएको छ । भोलिपल्ट बिहीबार आइसिसीले नामिबियामा कोभिडका कारण तयारी गर्न असम्भव भएको र यात्रा प्रतिबन्धलाई अझ कडा पारिएका कारण सिरिज स्थगित गर्नु परेको जानकरी दिएको छ । 

OM Sai Pathibhara Hospital

आइसिसीका अनुसार यो सिरिज आगामी २०२२ जुलाई मा हुनेछ।  आगामी साउन ५ बाट सुरु भएर साउन १५ मा सकिने तय भएको सिरिजका लागि नेपाली टिमले बुधबारदेखि प्रशिक्षण सुरु गरेको थियो। यसअघि स्कटल्यान्डमा हुने तय भएको सिरिज कोरोना भाइरसका कारणका त्यहाँ लगाइएको यात्रा प्रतिबन्धका कारण स्पेनमा सिरिज गर्ने निर्णय भएको थियो।‍ स्कटल्यान्डले नेपाललाई रेड जोनमा राखेपछि त्यहाँ पुग्न खेलाडीहरुलाई समस्या हुने भएपछि लिग स्पेनमा गराउने निर्णय भएको थियो।

सिरिज दक्षिण स्पेनको डेजर्ट स्प्रिङ्ग्स मैदानमा हुने तय थियो। यो मैदानले केहीअघि मात्र एकदिवसीय मैदानको मान्यता पाएको थियो। त्यसैले नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिज स्पेनमा हुने पहिलो एकदिवसीय खेल हुँदै थियो।

प्रत्येक टिमले ९ सिरिज खेल्नु पर्ने लिग-२ मा नेपालले अहिलेसम्म एक सिरिज मात्र खेलेको छ। २०७६ फागुनमा नेपालमा भएको सिरिजमा नेपाल, अमेरिका र ओमानले प्रतिस्पर्धा गरेका थिए। सिरिजमा नेपालले दुई खेलमा जित हात पारेको थियो। नेपालले अमेरिकालाई दुवै खेलमा हराउँदा ओमानविरुद्धको दुवै खेल गुमाएको थियो।

लिग-२ मा नेपाल, ओमान, अमेरिका, नामिबिया, स्कटल्यान्ड, पपुवा न्युगिनी र युएई गरी ७ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।