विराटनगर / कोरोना महामारीका कारण स्वास्थ्य जोखिमलाई कारण देखाएर प्रदेश १ का सबै विद्यालय बन्द रहेको समयमा मोरङको तिलगङ्गास्थित स्मृति बोर्डिङ स्कुल भने स्थानीय प्रशासनको आँखा छल्दै संचालन भइरहेको सार्वजनिक भएको छ ।

कोरोना संक्रमण उच्च बनेपछि संक्रमण रोक्न र तथा नियन्त्रण गर्न स्थानीय प्रशासनको आदेशमा प्रदेशभरिका विद्यालय बन्द रहेको बेला स्मृति स्कुल भने संचालन भइरहेको पाइएको हो ।  स्थानीय प्रशासनको आदेशको अवज्ञा गर्दै सञ्चालन भइरहेको सो विद्यालयले भने अभिभावकको आग्रह र दबावका कारण विद्यालय संचालन गरेको जनाएको छ ।

प्रशासनको आदेश लत्याउँदै संचालन भइरहेको सो विद्यालयमा अहिले सामान्य अवस्थामा जसरी नै बिहान ६ बजेदेखि १० बजेसम्म पठनपाठन भइरहेको छ ।

विद्यालयकी प्राचार्य रिता न्यौपानेले भने अनौपचारिक रुपमा अनुमति लिएर नै विद्यालय संचालन गरिएको दावी गरेकी छन् । उनले अनुमति दिने सरकारी निकायको विषयमा भने केहि पनि बताउन चाहिनन् । आफ्नो विद्यालयमा अध्ययनरत सबै विद्यार्थी अनलाइन कक्षाको पहुँचमा नरहेकाले अभिभावकको सहमतिमा विद्यालय संचालन गरिएको उनले जिकिर समेत गरेकी छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निषेधाज्ञाको समयमा विद्यालय संचालन भएको विषयमा अनभिज्ञता प्रकट गरेका छन् । उनले सरकारी निर्णय र आदेशको अवज्ञा गरी संचालनमा रहेको सो विद्यालयका विषयमा छानविन गरी कारवाही गरिने बताएका छन् ।