चितवन / चितवनमा विद्यालयहरुले अनलाईन मार्फत भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार यहाँ रहेका सबै विद्यालयहरुले असार १ गतेदेखि भर्ना प्रक्रिया शुरु गर्न लागेका हुन् ।
कार्यालय प्रमुख भूमिलाल सुवेदीका अनुसार ईन्टरनेटको सुविधा भएको ठाउँमा भर्चुअल माध्यमबाट भर्ना लिइने छ भने अन्य स्थानमा सामाजिक दूरी कायम गरी भर्ना लिइने छ ।
विद्यार्थीहरुको भविष्यसँग जोडिएकाले भर्ना प्रक्रिया शुरु भएसँगै विद्यालयले पुस्तक खरिद गरी विद्यार्थीहरुलाई उपलव्ध गराउने छन् । अहिले यहाँका सात वटै स्थानीय तहका शिक्षा शाखाहरु नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको उनले जानकारी दिए ।
कक्षा आठको नतिजाको समेत अन्तिम तयारीमा लागेकाले त्यस लगत्तै भर्ना अभियान र पठनपाठन शुरु गरिने छ । विद्यालयहरुले भर्ना फारम आफ्नो विद्यालयको वेभसाइटमा राख्ने छन् । सोही साईटमार्फत विद्यार्थीले फारम भरेर विद्यालयलाई बुझाउने छन् ।
सो फारमको आधारमा विद्यालयले विद्यार्थीसँंग भर्चुअल रुपमा अन्तरवार्ता लिई भर्नामा सहभागी गराउने छन् । विद्यार्थी भर्ना प्र्रक्रियासँगै पठन पाठन पनि भर्चुअल माध्यमबाटै गर्ने छन् ।
अनलाइनको सुविधा नपुगेका विद्यालयहरुले भने भर्नाका लागि सामाजिक दूरी कायम गर्नुपर्ने उनले बताए । उनले भने, “सामाजिक दूरी कायम गरी भर्ना गर्ने छन् । पठनपाठनका लागि वैकल्पिक माध्यम अबललम्बन गर्नुपर्ने छ ।” जिल्लामा ३ सय २३ सामुदायीक र २ सय १६ संस्थागत गरी ५ सय ३९ विद्यालय रहेका छन् । ती विद्यालयमा १ लाख ५४ हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।