खोटाङ / खोटाङमा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि जिल्लास्तरीय प्रतियोगिता शुरु भएको छ । जिल्लाका स्थानीय तहबाट छनोट भएर आएका खेलाडीबीच प्रतिस्पर्धा गराएर प्रदेशस्तरीय प्रतियोगिताका लागि ८४ जना खेलाडी पठाउने उद्देश्यले प्रतियोगिता शुरु गरिएको हो । 

दिक्तेलस्थित माटीकोरे खेलमैदानमा तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका पाँच स्थानीय तहमा सञ्चालित माध्यमिक तहमा अध्ययनरत खेलाडी सहभागी भएका छन् । प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिका तथा ऐसेलुखर्क, रावोबेँसी र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका खेलाडी मात्र सहभागी भएका हुन् । दश स्थानीय तह रहेको जिल्लाका केपिलासगढी, साकेला, जन्तेढुङ्गा, बराहपोखरी र खोटेहाङ गाउँपालिका उक्त प्रतियोगितामा सहभागी भएका छैनन् । साकेला गाउँपालिकामा भएको गाउँपालिकास्थरीय छनोट प्रतियोगितामा सहभागीबीच झडप भएपछि गाउँपालिकास्तरीय प्रतियोगिता नै स्थगित गरिएको छ । 

OM Sai Pathibhara Hospital

जिल्लाका अन्य स्थानीय तहले भने पर्याप्त बजेट नभएका कारण देखाउँदै जिल्लास्तरीय प्रतियोगितामा सहभागिता नजनाएको आयोजक समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले जानकारी दिएका छन् । “राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्नका लागि भनेर एउटा स्थानीय तहमा रु एक लाखमात्र बजेट आउने गरेको छ”, उनले भने, “पालिका, जिल्ला तथा प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी गराउन कम्तिमा पनि रु पाँच लाख बजेट आवश्यक पर्ने देखिन्छ । आगामी दिनमा प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेर सबै स्थानीय तहलाई सहभागी गराउने योजना बनाएका छौँ ।”

जिल्लास्तरीय प्रतियोगितामा छात्रछात्रा भलिबल, सितोरियो कराँते, तेक्वान्दो, कबड्डी र एथलेटिक्स गरी पाँच विधामा प्रतिस्पर्धा हुने जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख लीलाभक्त केसीले बताएका छन् । जिल्लास्तरीय प्रतियोगिताअन्तर्गत सबै विधाका उत्कृष्ट ८४ खेलाडी छनोट गरेर प्रदेश नं १ को राजधानी विराटनगरमा सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने जनाइएको छ । 

जिल्लास्तरीय प्रतियोगिता उद्घाटन कार्यक्रममा दिक्तेलस्थित शुभम् फाउण्डेशनका विद्यार्थीले तेक्वान्दो खेलासम्बन्धी कला प्रस्तुत गरेका थिए । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने नाराका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले उद्घाटन गर्नुभएको प्रतियोगितामा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कार्यालय प्रमुख, खेलसम्बन्धी विभिन्न सङ्घसङ्गठनका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।