चितवन (रासस) पत्रकार राधेश्याम खतिवडाले कोरोनाको जोखिम बढेपछि आफूले छोरालाई बिहीबारबाट विद्यालय पठाउन छाडेको बताएका छन् । 

कक्षा ९ मा पढ्ने उनका छोरा मात्र होइन, धेरै अभिभावकले आफ्ना सन्तानलाई घरमा नै राखेर पढाउन थालेका छन् । नेपाल पत्रकार महासङ्घ चितवन शाखाका निवर्तमान अध्यक्षसमेत रहेका खतिवडाले मानव स्वास्थ्यभन्दा ठूलो कुरा केही नहुने भएकाले भीडभाडमा बच्चालाई पठाउनु जोखिम भएको बताएका छन् । 

OM Sai Pathibhara Hospital

कोरोना भाइरस सङ्क्रमण जोखिम बढेसँगै जिल्लाका संस्थागत विद्यालयमा विद्यार्थी घट्न थालेका छन् । लिटिल फ्लावर स्कूल नारायणगढका प्राचार्य रोबी केयुले एउटा कक्षामा तीन÷चार जना विद्यार्थी कम आएको बताएका छन् । उनले भने, “रुघा, खोकी र ज्वरो आएका विद्यार्थीलाई घरमा नै आराम गर्न भनेका छौँ ।”

 सचेत अभिभावकले छोराछोरीलाई विद्यालय पठाउन छाडेसँगै ठूला संस्थागत विद्यालयमा विद्यार्थी घट्न थालेका छन् । नारायणी नमूना मावि भरतपुरका प्राचार्य पूर्णप्रसाद दवाडीले आफ्नो विद्यालयमा एक जना कर्मचारीलाई कोरोना सङ्क्रमण भएको र केही शिक्षक बिरामी परेको बताएका छन् । यस्तै अवस्था रही रहेमा विद्यालय सञ्चालन गर्न कठिन हुने उनको भनाइ छ ।

 शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीले संस्थागत विद्यालयमा विद्यार्थीको उपस्थिति घटेको भन्ने जानकारी प्राप्त भएको बताएका छन् । सातवटै पालिकाका शिक्षा प्रमुखसँग छलफल गरेर के गर्ने भन्ने विषयको टुङ्गो लगाउने उनको भनाइ छ । मन्त्रालय र विभागमा आफूले समन्वय गरिरहेको भन्दै उनले सम्पूर्ण विद्यालयलाई सावधानी अपनाउन आवश्यक निर्देशन दिइएको जानकारी दिएका छन् । पछिल्लो समयमा बालबालिकामा समेत कोरोना सङ्क्रमण देखिन थालेपछि त्रास बढेको हो ।

 जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार १३ पुगेको छ । जसमध्ये ९८ सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये ११४ को मृत्यु भइसकेको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले कम उमेरकालाई सङ्क्रमण देखिन थालेको बताएका छन् । सबैले आ–आफ्नो ठाउँबाट स्वास्थ्य निर्देशिका कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । जिल्लामा ३२३ सामुदायिक र २१६ संस्थागत गरी ५३९ विद्यालय छन् । ती विद्यालयमा एक लाख ५४ हजार विद्यार्थी अध्ययनरत छन् ।