कास्की / पोखरा महानगरपालिकाको सबैभन्दा उचाइमा अवस्थित वडा नं २० को मौजामा पूर्वाधारयुक्त ‘सेमी हाइ अल्टिच्युड’ खेल मैदानलगायतका संरचना निर्माण हुने भएको छ ।

समुद्री सतहबाट एक हजार ६५० मिटर उचाइमा निर्माण गरिने उच्च पर्वतीय खेल मैदानको शनिबार महानगरपालिका प्रमुख मानबहादुर जिसी र गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले एक कार्यक्रमका बीच संयुक्तरूपमा शिलान्यास गरे । 

OM Sai Pathibhara Hospital

पोखरा महानगरपालिकाले उच्च पर्वतीय खेल मैदान पूर्वाधार निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकूदको अभ्यासस्थलका रूपमा विकास गर्ने गरी चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट काम शुरु गरेको हो । महानगरले पर्वतीय खेल मैदानलाई महानगर गौरवको योजनाका रूपमा लिएको छ ।

मौजाको तोयँढापडाँडाको ५६ रोपनी क्षेत्रफल जमिनमा महानगरपालिकाले फुटबल, भलिबल, बास्केटबलसहितका खेल पूर्वाधार निर्माणका लागि १६ करोड रुपैयाँको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेको महानगर प्रमुख जिसीले जानकारी दिए । फुटबल मैदान (इलाभेन साइड), बास्केटबल कोर्ट, भलिबल कोर्ट, कपडा फेर्ने कोठा (चेञ्जिङ रुम), दुई हजार दर्शक क्षमताको प्राकृतिक प्यारापिट, चमेनागृह, शौचालयलगायतका पूर्वाधार निर्माण गरिने डिपिआरमा उल्लेख छ ।

चालु आवमा खेल मैदानका लागि रु ५० लाख बजेट विनियोजन गरिएकामा सो बजेटबाट खेल मैदान सम्याउने र तारबारको काम गरिने प्रमुख जिसीले बताए । उनले भने, “विश्वकै उत्कृष्ट ठाउँमध्ये पोखरामा खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि खेल मैदानले सघाउने छ । सजिलो रूपमा पहुँच पुग्न सक्ने यस ठाउँमा खेल मैदानको निर्माणमा सहयोग गर्र्नु सबै पोखरेलीको दायित्व हो ।”

मैदानबाट माछापुच्छ«े तथा अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । पोखरा बजार क्षेत्र, मादी गाउँपालिकाको सुन्दरबस्ती तथा हरियाली जङ्गलको सुन्दरताले यस क्षेत्रमा पुग्ने पर्यटक मोहित हुने गरेकाले खेल पर्यटनको विकासमा कोसेढुङ्गा सावित हुने महानगरले जनाएको छ । गण्डकी प्रदेशसभा सदस्य थापाले खेल मैदानका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्राकृतिकरूपमा सुन्दरस्थलमा खेल पूर्वाधार निर्माण हुँदा यससँगैका छिमेकी वडामा समेत विकासको ढोका खुल्ने भनाइ उनको थियो ।

खेल मैदान निर्माण सम्पन्न गरेर राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण गराउने आफूहरुको योजना रहेको सोही वडाका वडाध्यक्ष सीम गुरुङले बताए । उनले भने, “हिमालको काखमा ग्रामीण परिवेशमा जैविक परिकारका साथमा फुटबल प्रशिक्षण गराउने योजना छ । यसबाट नेपालको फुटबलमा सकारात्मक नतिजा दिन्छ भन्नेमा विश्वस्त छौैँ ।”