दूल्लु / रायण नगरपालिका– ५ नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।

ज्वरो आउने, रिँगटा लाग्ने र शरीर काम्ने लगायतको लक्षण देखिन थालेपछि  मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिएका छन् । उनका अनुसार आइतबार १ सय ५०, सोमबार एक सय र मङ्गलबार ८५ विद्यार्थी बिरामी परेपछि बाध्य भएर चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा तीन दिनका लागि विद्यालय बन्द गरिएको हो । 

OM Sai Pathibhara Hospital

विद्यार्थी बिरामीले ग्रसित भएको खबर जिल्ला अस्पताल दैलेखमा पुगेपछि डा. विवेक गुरुङको टोली त्यहाँ पुगेको जिल्ला अस्पतालका सूचना अधिकृत धीरराज रेग्मीले बताए ।

विद्यार्थीलाई आरामको आवश्यकता भएको र औषधिले काम गर्ने समय लाग्ने भएकाले विद्यालय बन्द गरिएको रेग्मीले जानकारी दिए । बिरामी सबैलाई जाँच गरी औषधि दिएर घरमा आराम गर्न सुझाव दिइएको उपचारमा खटिएका डा. गुरुङले जानकारी दिए ।

यो अन्य कुनै महामारी नभई भाइरल ज्वरो भएको जनाइएको छ ।  हाल सबै बिरामीलाई औषधि दिइएको र आराम गर्न सुझाव दिइएको जनाउँदै डा. गुरुङले विस्तारै औषधिले काम गर्ने हुँदा धेरै आत्तिनु नपर्ने बताएका छन् ।

 सयौंँ विद्यार्थी दुई दिनदेखि बिरामी पर्दा निकै चिन्तित भएको स्थानीयवासी यामराज कटुवालले बताउछन् । विद्यार्थी मात्र नभई नारायण – ५ छातीकोटका धेरैजसो घरमा बिरामी परेको जनाइएको छ । 

टोलमा बिरामी परेको खबर पाएपछि अहिले स्थानीय स्वास्थ्यचौकीमा बिरामीको भीड  लाग्ने गरेको स्वास्थ्यचौकी प्रमुख षडानन्द शर्माले जानकारी दिएका छन् ।