गलकोट / कोरोना भाइरसका कारण थलिएको ग्रामीण पर्यटनलाई लयमा फर्काउन पर्यटकीय गाउँ भकुण्डेमा एक दिने पदयात्रा गरिएको छ ।
जिल्लाको पहिलो घरबास रहेको भकुण्डेमा कोरोनाका कारण आन्तरिक पर्यटक आउन छाडेपछि अहिले उक्त गाउँ सुनसान छ । कोरोनाका कारण थलिएको पर्यटन उकास्नका लागि प्रचारप्रसार अभियानअन्तर्गत बागलुङ बजारदेखि भकुण्डेको बराहतालसम्म हाइकिङ गरिएको छ ।
समाजिक कार्यमा सक्रिय रोट्र्याक्ट क्लब अफ बागलुङले सञ्चालन गरेको रोट्र्याक्ट सप्ताहको दोस्रो दिन पर्यटकीय गाउँमा हाइकिङ गरिएको क्लबका अध्यक्ष ताराप्रसाद शर्माले जानकारी दिए ।
“कोरोनाले थलिएको पर्यटन व्यवसायलाई उकास्नका लागि हाइकिङ गरिएको हो”, शर्माले भने “जिल्लाकै पहिलो ग्रामीण पर्यटनको केन्द्रको रुपमा चिनिएको भकुण्डेको प्रचारप्रसार र पर्यटकको आगमन बढाउनेछ ।” दुई घण्टाको पैदलयात्रामा बराहताल पुगेको हाइकिङमा सहभागी सुस्मिता केसीले जानकारी दिइन् ।
उनले बजार नजिकै रमणीयस्थान हेदै पदयात्रा गर्दा निकै आनन्द भएको बताइन् । शर्माले हाइकिङपछि भकुण्डे पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा रहेको जनाइन्। भकुण्डेको बराह ताल, दृश्यावलोकन स्तम्भ तथा मनोरम दृश्य र जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेकाले यसलाई हाइकिङको रुटका रुपमा विकास गर्न आवश्यक रहेको हाइकिङमा सहभागी सौरभ केसीले जानकारी दिइन् ।
यही चैत १२ गतेसम्म विभिन्न रचनात्मक तथा सामाजिक कार्यका साथ सप्ताह सञ्चालन गरेको क्लबले जिल्लाको पर्यटन प्रवद्र्धन गर्नका लागि हाइकिङ गरेको हो । क्लबका अध्यक्ष शर्माको नेतृत्वमा २१ जनाको समूह उक्त एक दिनको पदयात्रामा सहभागी भएको क्लबले जनाएको छ ।
भकुण्डेमा स्थानीय उत्पादनबाट बनेको खाना तथा आतिथ्यताका लागि घरबाससमेत सञ्चालनमा रहेको छ । साताव्यापी रुपमा हुने कार्यक्रमअन्तर्गत तेस्रो दिन आज बानपा– ४ उपल्लाचौरमा रहेको उपल्लाचौर आधारभूत विद्यालयमा फस्टएड बक्स वितरण गरिने सप्ताहका मूल संयोजक सौरभ केसीले जानकारी दिए ।
त्यसैगरी चैत ९ गते नेपाल पत्रकार महासङ्घ बागलुङ र रोट्र्याक्ट क्लब अफ बागलुङकाबीचमा मैत्रीपूर्ण फुटसल, १० गते बोर्ड व्यस्थापन, ११ गते दुर्घटना न्यूनीकरणका लागि सहयोग पु¥याउन मोटरसाइकल र स्कुटरमा सन्देशमूलक स्टिकर टाँस गर्ने र १२ गते छात्रवृत्ति वितरणसहित समापन गरिने केसीले बताएका छन् ।