बनेपा /  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताएो छन् । शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा उनले अहिले मुलुकमा राजनीतिक फुटबल खेल शुरु भएको बताएका छन् ।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको दिनदेखि नै राजनीतिक फुटबल खेल शुरु भएको र आफूहरूसँग शक्तिशाली खेलाडी रहेकाले अन्त्यमा खेल आफूहरूले नै जित्ने जिकिर समेत गरेका छन् । यसअघि पनि बल हानिसकेको अवस्थामा पोलमा ठोक्किएर फर्किएको उल्लेख गर्दै उनले अबको प्रहारमा गोल गर्नेमा आफूहरू नै हुनेमा ढुक्क रहेको बताए ।

OM Sai Pathibhara Hospital

उनले हेभी इक्विपमेन्ट चालकलाई चालक अनुमतिपत्र वितरण गर्ने प्रक्रिया सहज नभएको उल्लेख गर्दै अब समस्या समाधान गर्नमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।  ट्रायल दिइसकेपछि शुल्कको व्यवस्था गरेर सुलभ र सहज ढङ्गले अनुमतिपत्र दिने काममा सरकारले तदारुकता देखाउने उनले बताए । व्यवसायीले हेभी इक्विपमेन्ट नेपालमा ल्याइसकेपछि त्यसको प्रयोग र सञ्चालनको विधि के हो भन्ने विषयमा सरकारले नियमन र व्यवस्थापन गर्ने कुरामा सोच्ने उल्लेख गरे ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जनप्रतिनिधिले आफ्ना नाता पर्नेका नाममा हेभी इक्विपमेन्ट खरिद गरेर व्यवसायी विस्थापित हुने अवस्था भएकाले त्यसतर्फ महासङ्घले ध्यान दिन आवश्यक भएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुरकृष्ण वैद्यले हेभी इक्विपमेन्ट व्यवसायीलाई सरकारले नहेरेको बताउँदै राष्ट्र विकासको परिपूरकका रूपमा रहेको व्यवसाय बढी जोखिम लिने क्षेत्र भएकाले व्यावसायिक सुरक्षामा ध्यान दिन आवश्यक रहेको उल्लेख गरे । 

नेपाल यातायात व्यवसायी महासङ्घका सल्लाहकार रमेश शर्माले व्यवसायीले योजना बनाएर अगाडि बढ्नुपर्ने भएकाले प्रविधिमैत्री बन्न सुझाव समेत दिएका छन् ।