दाङ/ दाङको तुलसीपुरमा ऐतिहासिक आजदेखि ‘भोटे मेला(शिवरात्रि)’  शुरु भएको छ ।  जुम्ला, हुम्ला, मुगुलगायतबाट यार्सागुम्बा, जडीबुटी, राडी, कम्बल बेच्न आएका भोटेहरूले बर्षेनी दाङको तुलसीपुरमा भोटे मेला लगाउने गरेको इतिहास छ । 

पछिल्लो समय विंसं. २०६१ देखि बन्द रहेको यो मेला गत वर्षदेखि दाङबासीले नै चासोका साथ  पुनः सञ्चालन गरेका हुन् । ऐतिहासिक मेलालाई संरक्षण गर्ने उद्देश्यले मेला लगाउन शुरु गरिएको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दीपक कुमालले बताए ।

उनका अनुसार मेला चैत २ गतेसम्म सञ्चालन हुनेछ । उक्त मेलाको लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले मेला ऐतिहासिक भएकाले यसलाई संरक्षण गर्नुपर्ने बताएका छन् । उनले भने – यस मेलाको विशेषता नै घोडा दौड हो, यस प्रतियोगितालाई राष्ट्रियस्तरको बनाउनुपर्छ ।

कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले उपमहानगरपालिकाभित्रका धार्मिक तथा पर्यटकीयस्थलको संरक्षण गरिएको भन्दै यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । यस मेलालाई ऐतिहासिक झल्किने गरी मेलालाई निरन्तरता दिने बताईन् । तुलसीपुर उपमहानगरपालिका–७ स्थित पर्सेनीमा उक्त मेला लाग्ने गरेको छ ।

वडाध्यक्ष टोपबहादुर केसीका अनुसार पहिले सार्वजनिक जग्गामा मेला लगाइने गरिएको भए पनि त्यो जग्गा अतिक्रमणमा परेकाले खोलामा मेला लगाउनुपर्ने बाध्यता छ । उनले नजिकै  शवदाहस्थल तथा विद्यालय जाने बाटोसमेत भएकाले अन्य स्थानमा सार्नुपर्ने अवस्था रहेको बताए । मेलामा घोडा दौड प्रतियोगितासमेत गराइएको थियो ।

छ दिनसम्म चल्ने मेलामा विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछन् । मेलामा १३० स्टल राख्नुका साथै बालउद्यान, मौतकी कुवा, पिङलगायत मनोरञ्जनका सामग्रीसमेत राखिएको छ । साथै स्थानीय उत्पादन प्रवद्र्धन, स्थानीय लोक संस्कृति संरक्षण, देउडा नाचलगायत प्रस्तुत गरिनेछ । तुलसीपुर उपमहानगरपालिका–७ कार्यालयको  संरक्षकत्वमा तुलसीपुर एक्सप्रेस प्रालिले मेलाको आयोजना गरेको हो भने सहआयोजकमा रानीघाट युवा क्लब रहेको छ ।

मेलाको इतिहास

धेरै वर्ष पहिलादेखि भोटेहरू हिमालबाट घोडा चढेर फागुनमा दाङ आइपुग्थे । उनीहरूले ल्याएका जडीबुटी, यार्सागुम्बा, कम्बल, राडीलगायत स्थानीय उत्पादन बिक्री गर्ने गर्थे । उनीहरू रात परेपछि तुलसीपुर उपमहानगरपालिका–७ स्थित पर्सेनीमा बस बस्थे । त्यही बास बसेको ठाउँ उनीहरूले आफ्ना संस्कृति झल्किने  नाचगान प्रस्तुत गर्थे । जुन दिन शिवरात्रि पथ्र्यो । त्यही दिन घोडा दौड प्रतियोगितासमेत राखे । त्यही घोडा दौड प्रतियोगिता हेर्न धेरै मान्छे जम्मा हुन्थे । त्यसपछि त्यो ठूलो मेलाका रुपमा परिणत भयो ।

त्यसपछि प्रत्येक शिवरात्रिका दिन मेला लाग्ने गथ्र्यो । भोटेहरूले हिमालबाट ल्याएका सामग्रीसमेत बिक्री हुने गरेको तुलसीपुर–७ निवासी ८७ वर्षीय दोर्णबहादुर केसीले जानकारी गराए । सशस्त्र द्वन्द्वका कारण विसं २०५४ देखि भोटेहरू दाङ आउन छाडे । तत्कालीन माओवादी र सरकारबीच चर्किएको द्वन्द्वका कारण भोटेहरू आउन छाडे पनि स्थानीयवासीले मेला लगाए । मेलामा स्थानीय संस्कृति झल्किने नाचगान गरिन्थ्यो । जिल्लाका विभिन्न ठाउँका मानिस स्थानीय उत्पादन बिक्री गर्न मेलामा आउँथे तर तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी निवासी ७६ वर्षीय खुमानन्द अधिकारीका अनुसार विसं २०६१ देखि मेला पूर्णरूपमा बन्द भयो ।

स्थानीय युवाबीच  मेला लगाउने विषयले उग्ररुप लिएर झडपसमेत भएको थियो । तत्कालीन हलवार गाविसले मेला लगाउन प्रतिबन्ध गरेपछि १५ वर्षसम्म मेला लाग्न सकेको थिएन । गएको वर्षदेखि पुनः मेला लाग्न शुरु भएको छ । भोटेहरूले लगाउँदै आएको मेलामा पछिल्लो समय दङ्गालीहरूको पनि चासो बढेको देखिन्छ । कला संस्कृतिको संरक्षण तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले मेलालाई निरन्तरता दिन लागिएको हो ।